• जेष्ठ २७ २०८२, सोमबार

राजनीतिक नेतृत्व र दलहरुप्रति समाज आलोचक बन्दै गएको छ : वर्षमान पुन

असार १ २०८०, शुक्रबार

काठमाडाैं ।  माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक नेतृत्व र पार्टीहरूमाथि समाज आलोचक बन्दै गएको र प्रश्नहरू उठेको बताएका छन् ।

चीनमा चार महिना लामो उपचार गरेर स्वदेश फर्किएपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पार्टी नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग कुरा गर्दै दल र नेताहरूले आलोचनालाई नकारात्मक रूपमा लिन नहुने उल्लेख गरे ।
लोकतन्त्रमा जनताको प्रश्नभन्दा बाहिर कोही पनि हुन नसक्ने भन्दै उनले आफूमाथिका प्रश्नहरूको राजनीतिक दल र नेताहरूले व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने तर्क गरे ।

राजनीतिक दल र नेताहरू नयाँ अग्नि परीक्षामा रहेको भन्दै पुनले जनताका एक/एक प्रश्न र आशंकाहरूको जवाफ सबैले दिनुपर्नेमा जोड दिए ।

‘नेपाली समाज आलोचक बन्दै गएको छ । राजनीतिमाथि, नेताहरूमाथि र राजनीतिक दलहरूमाथि प्रश्न उठेको छ। प्रश्न उठ्नु नराम्रो होइन’, पुनले भने, ‘तर, प्रश्नहरूको सकारात्मक जवाफ दिनु राजनीतिक दल र नेताहरूको कर्तव्य हो । राजनीतिक व्यवस्थाको कर्तव्य हो । व्यवहारबाटै त्यसको जवाफ दिइनुपर्छ, राजनीतिक व्यवस्था, दल र नेताहरूको औचित्यता साबित गर्न सक्नुपर्छ यो हाम्रो दायित्व हो ।’

व्यवस्था बदलेका राजनीतिक दल र नेतृत्वसँग जनताले अवस्था बदलियोस् भन्ने अपेक्षा राख्नु सर्वथा गलत नहुने तर्क उनको थियो । सबै राजनीतिक दल र नेताहरूको ध्यान मुलुकको अवस्था बदल्न आर्थिक तीव्र वृद्धिमा हुनुपर्ने पनि उनले औंल्याए ।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा नयाँ र राम्रका कामको थालनी गरेको भन्दै प्रशंसा गरे । राम्रा कामहरूका कारण सरकारप्रति जनसमर्थन रहेको दाबी पनि उनले गरे ।

वर्तमान सरकारले शासन प्रशासनमा जनताको अपेक्षाअनुसार काम गर्ने र सुशासन कायम गर्ने कुरामा सम्झौता नगर्ने बताए ।