• जेष्ठ २७ २०८२, सोमबार

प्रधानन्यायाधीशमा अनुमोदित कार्कीले २० दिन सर्वोच्च अदालत सम्हाल्ने छन्

असार १ २०८०, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। संसदिय सुनुवाइ विशेष समितिले शुक्रबार कार्कीको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।

शुक्रबार सपथ लिएर कार्यभार सम्हालेमा उनीसँग २० दिनको समय हुने छ। तर त्यसमा शनिबार कटाउदाँ उनले १७ दिनमात्र अदालतमा उपस्थित भएर मुद्दाको सुनुवाइमा बस्न पाउनेछन्।

सुनुवाइ समितिमा कार्कीलाई सांसदहरुले उजुरी परेका विषय र अन्य विषयहरु मिलाएर प्रश्न गरेका थिए। सांसदहरुका सबै प्रश्नको जवाफ उनले आत्मविश्वास र निडर भएर दिएका थिए।

कार्कीले सांसदहरुलाई आफूले सर्वोच्चमा नियुक्त भएदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दासम्म कुनै पनि गल्ती नगरेको भनेर जवाफ दिए। उनले दिएको जवाफमा सन्तुष्ट हुँदै समितिले उनको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ। अनुमोदन भएसँगै उनी सर्वोच्च अदालतको ३०औं प्रधानन्यायाधीशको रुपमा जिम्मेबारी सम्हाल्ने छन्।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको ४०औं दिनमा कार्की प्रधानन्यायाधीशको रुपमा अनुमोदन भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्ति दिँदै शपथ खुवाउने छन्। हालसम्म राष्ट्रपति कार्यालयमा अनुमोदन गरेको पत्र पुगेको छैन।

कार्कीको जन्ममिति २०१५ साउन २० भएकाले उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन्।

प्रधानन्यायाधीश वा न्यायाधीशले अवकाश पाउनुभन्दा १ महिना अघि कुनै पनि मुद्दा सुनुवाइ नगर्ने गरि बिदामा बस्ने अभ्यास रहेको छ। यसरी हेर्दा उनले असार २० गतेदेखि सर्वोच्चमा बिदा लिएर बस्ने छन्। उनको स्थानमा विश्वभरप्रसाद श्रेष्ठको नाम सिफारिस हुनुपर्ने छ। प्रधानन्यायाधीशका रुपमा कार्की ५० दिन पदमा रहने भए पनि इजलासमा भने १७ दिनमात्र बिताउन पाउनेछन्।