• आश्विन ५ २०८१, शनिबार

‘पुन’ थर बारेको विवाद तत्काल समाधान गरियोस्

जेष्ठ ३२ २०८०, बिहीबार

मगर जातिको पृष्ठभूमि :
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ ठाउँ र समुदाय विशेष फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभुषा तथा परम्परा छन् । जसरी फूलैफूल गुथेर सुन्दर माला बन्छ, त्यसरी नै बहुजातीय संस्कृतिहरु मिलेर नेपालीको पहिचान बनेको छ । आफ्नै पुर्ख्यौली थातथलो जातीय भूमि (मगरात), मगर जातिले बोल्ने तीन वटा मातृभाषा (ढुट, खाम वा पाङ र काइके), मगर जातिको धर्म (प्रकृति पुजक, बौद्ध) मगर जातिको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिवासी मुलवासी मंगोल वा मगर जाति समुदायको पहिचानको रुपमा हेर्ने गरिन्छ ।

मगर समुदाय देशकै तेस्रो ठूलो जाति हो । आदिवासी जनजातिहरुमध्ये सबै भन्दा ठूलो जाति मगर समुदाय हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको साँस्कृतिक, आर्थिक, राजनीतिक, तथा समाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुर्याउँदै आएको छ ।

सुन्दर देश नेपालमा सबै जातजातिहरुको आ-आफ्नै पहिचान र अस्त्तिव छ । आफ्नै रहनसहन छ । अनि आफ्नै पहिचान र इतिहास छ । विगतको इतिहास हेर्ने हो भने पनि विविधता भित्र एकताको मालामा गाँसेर नेपालीको वास्तविक पहिचान दिलाउन सफल भएको छ । यसो भन्दै गर्दा इतिहासका विभिन्न कालखण्ड र घटनाहरुले राज्यको सुविधाबाट पछि पारिएका जातजाति र समुदाय (अरुलाई पछि पारिएको छैन भन्न खोजिएको होइ)लाई विगतका दिनहरुलाई फर्केर हेर्दा राज्यसत्ताले जातजातिकै नाममा समेत विभेद गरेको पाइन्छ ।

राज्यदेखि पछि परेका जातजाति समुदाय तथा क्षेत्रमा विभेद मात्र होइन तिनीहरुको नामबाट आफ्ना फाइदाका लागि राजनीति गर्दै आएको हामी सबैलाई थाहा भएकै कुरो हो । तर समयले कोल्टो फेरेसँगै राज्यसत्ताले हेर्ने दृष्टिमा अहिले पनि रत्तिभर परिवर्तन हुन नसकेको घटना भर्खरै मात्र राष्ट्रिय जनगणना २०७८ को विवरण हेर्दा स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

मगर समुदाय तथ्यांक कार्यालयप्रति आक्रोश
राज्यदेखि पछि परेका आमजनताको अथक प्रयास र योगदान तथा रगतको बलिदानीले देशमा लोकतान्त्रिक गणतन्त्र आएको पनि केही वर्ष बितिसक्यो तर राज्यदेखि पछि परेका जनताहरुको अवस्था ज्यूको त्यू देखिन्छ । अहिले पनि राज्यले नपत्याउने हिसाबले ती समुदायप्रति अपहेलित मात्र होइन उनीहरुलाई राज्यको मूल तहमा आउन नदिन विभिन्न हतकण्डा मच्चाई हत्तोसाहित बनाई रहेको छ । राज्यसत्तामा बसेका सत्ताधारीहरुले राज्यदेखि पछि पारिएका समुदाय जातजाति र क्षेत्रमाथि कुटनीतिक तवरले आक्रमण गरिरहेका छन् ।

समुदायलाई फुटाएर सधैं राज्यसत्तामा राज्य गर्ने सत्ताधारीको नियत भर्खरै मात्र राष्ट्रिय जनगणना २०७८ को विवरण हेर्दा छर्लङ्ग थाहा हुन्छ । राज्यसत्तालाई राम्रैसँग थाहा छ मगर जातिभित्र पर्ने पुन थर मगर समुदायको एउटा थर हो भनेर, तर पनि जानीजानी जनगणनामा मगर समुदायलाई फुटाउनका लागि पुनको छुट्टै विवरण सार्वजनिक गरिएको छ । यसको दोष कसलाई दिने ? मगर संघ, या पुन समाज या तथ्यांक कार्यालय यसको बारेमा बहस र छलफल भई निचोडमा आउन बाँकी नै छ ।

यो समाजले कामकै आधारमा नामाकरण र पहिचान दिएर उपल्लो जात भनेर किटान गरिएका जाति समुदायहरुले पनि आफ्ना छुट्टै पहिचान हुनुपर्छ भनेर केही वर्ष अघि आफ्ना मुद्धाहरु लिएर आन्दोलनमा उत्रिएका थिए तर तिनीहरुको मुद्धालाई राज्यसत्ताले सम्झाई बुझाई समुदायबाट फुटन् दिएनन् र एकतामय बनाएर राखिरहेका छन् तर मगर जातिभित्र पर्ने पुन थरका केही मानिसहरुले हामी मगर होइनौं, हामी छुट्टै पुन जाति हौं भनिराख्दा राज्यसत्ताले एकपटक पनि ती समुदायका विज्ञहरुसँग कुनै सरोकार, वार्तालाप र अन्तरक्रिया नगरी सुटक्क तथ्यांक सार्वजनिक गरेर मगर समुदायप्रति ठूलो घात गरेको वर्तमान अवस्था हो ।

जसले गर्दा यति बेला आम मगर समुदायहरु आन्दोलित भइरहेका छन् यदि सम्बन्धित निकायले समयमै यो मुद्धालाई नमिलाएमा आन्दोलन मात्र होइन हतियार उठाउने चेतावनी समेत दिएका छन् । साँच्चै नै राज्यले यस विषयमा वेवास्ता गरे भने भोलि आउने दिन कता तिर जाला यो निकै नै चुनौतिको विषय बन्न जान्छ ।

यदि राष्ट्रिय तथ्यांक कार्यालयले मगर समुदायप्रति हेर्ने दृष्टि सकारात्मक र फराकिलो हुन्थ्यो भने लामो समयदेखि क्रियाशील नेपाल मगर संघसँग अथवा मगर समुदायका विज्ञहरु वा यस विषयसँग सम्बन्धित विद्वान व्यक्तित्वहरुसँग छलफल तथा परार्मश गर्न सक्थ्यो होला तर एक पटक पनि सहकार्य र छलफल नगरी केही पुन समाजको विश्वासमा मगर समुदायलाई टुक्राउने र फुटाउने कार्य गरेको छ यो सरासर गलत भइरहेको छ भनेर समग्र मगर समुदाय मात्र होइन मगर समुदायप्रति सकारात्मक रुपले हेर्ने जातजाति र समुदायले पनि बुझेका छन् । समर्थन पनि गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले के बुझ्न जरुरी छ भने नेपाल मगर संघको जग बसाल्ने तथा स्थापना गर्ने व्यक्ति नै मगर जाति भित्र पर्ने पुन थरका मगर थिए भन्ने कुरा सधैं हेक्का राख्नु पर्ने हुन्छ । तर तथ्यांक कार्यालय जस्तो जिम्मेवार निकायले मगर समुदायभित्रको ‘पुन’ थरलाई छुट्टै राखेर मगर समुदायलाई टुक्य्राउन खोज्नु के अन्याय भएन ? आम नेपालीलाई कसरी खुशी सुखी बनाउन सकिन्छ ? कसरी उनीहरुको जीवनस्तरलाई माथि उकास्न सकिन्छ ? कसरी उनीहरुको इतिहास र परम्परा तथा संस्कृति र संस्कारलाई जगेर्ना गर्न सकिन्छ भन्ने विषयमा ध्यानकेन्द्रित हुनु वा जिम्मेवारी बहन गर्नुको साटो झनै मिलेर बसिरहेको जातीय समुदायलाई फुटाउ र राज गरेको झल्को दिदा के मगर समुदाय चुप लागेर बस्सक्छ ? सायद यो गम्भीर विषयमा सम्बन्धित निकायले कानमा तेल हालेर बसेकै हुनुपर्छ या त मगर समुदायप्रति राज्यले हेर्ने दृष्टि संकुचन रहेको छ भन्ने बुझ्न सकिन्छ ।

देशकोलागि मगर समुदायको योगदान
हामी सबैलाई थाहा भएकै कुरो हो इतिहास साँची छ यो देशको चौतर्फी विकासका ठूला ठूला घटना र परिघटना तथा गतिविधिमा मगर समुदायको ठूलो योगदान छ । नेपाल मात्र होइन विश्व जगतमा समेत मगर जातिले आफ्नो वीरता र बहादुरी तथा इमान्दारीता देखाएर नेपाललाई विश्वमाझ चिनाएका छन् । नेपालको नाम उच्च स्थानमा राखेका छन् । अर्को कुरो इतिहासको कालखण्डमा नेपालका धेरै भुभागमा मगर जातिले राज्य सञ्चालन गरेको इतिहास साछी छ । यति हुँदाहुँदा पनि राज्यसत्ताले किन मगर समुदायलाई गुम्राह तथा उनीहरुको अस्तित्वसँग किन खेलवाड गर्दैछ ? यो नै गम्भीर विषय बन्दैछ ।

नेपाली भूमिको अस्तित्वलाई सधैं अग्रस्थानमा राख्न देशका ठूला तथा साना राजनैतिक घटनाक्रममा पनि मगर समुदायको योगदान र रगतको बलिदानी छ तर राज्यसत्ताले कहिल्यै पनि बुझ्ने कोशिस समेत गरेन जुनै सरकार आए पनि केवल राज्यदेखि पछि पारिएका समुदायको अस्तित्वलाई नामेट पार्ने खेल मात्र खेलियो । अब के यो देशलाई लोकतान्त्रिक गणतन्त्र नेपाल भन्न सकिन्छ होला त ? मगर समुदायमाथि यसरी राज्यसत्ताले घात गरेको घटना यो त एउटा नमुना मात्र हो ।

राज्यसत्ताले राज्यदेखि पछि परेका जातजातिहरुलाई इतिहासको त्यो दिनदेखि आजका दिनसम्म पनि हेर्ने दृष्टि यति साँघुरो छ कि जसले आउने दिनमा देशको विकासमा कति असर पार्दछ भन्ने कुराको समेत हेक्का राख्न सकेको छैन । कसरी हुन्छ मगर समुदायलाई फुटाउने र राज गर्न सकिन्छ भन्ने संकुचन सोंचका कारण फेरि मगर समुदायको अस्त्तिवमा प्रहार गर्नु मुर्खता हो जसले गर्दा यति बेला देश र विश्वभरि छरिएका मगर समुदायहरु दुखी मात्र होइन आक्रोश भईरहेका छन् ।

यो विषयलाई राष्ट्रिय तथ्यांक कार्यालयले समयममै नसच्चाए त्यसको नतिजा नराम्रो हुने समेत चेतावनी दिइरहेका छन् । जसले गर्दा भोलि आउने दिनमा यो मुद्धा फेरि उग्ररुपमा नजाला भन्न सकिन्न । तर जेष्ठ १९ गते सार्वजनिक भएको तथ्यांक विवरण यतिका दिन भइसक्दा पनि सम्बन्धित निकाय चुइँक्क बोलेको छैन । न त नेपाल मगरसंघका सम्बन्धित व्यक्तित्व वा यस संघ सबन्धित विज्ञहरुसँग नै सहकार्य तथा छलफल नै गरेका छन् । यस विषयमा तथ्यांक कार्यालयको कुनै पनि दिलचस्पी देखिँदैन । राज्यसत्तालाई भ्रम छ मगरहरु यस्तै हुन् सोझा हुन्छन् दुईचारदिन कराउँछन् अनि थन्किन्छन् भन्ने सोंचमा सम्बन्धित निकाय बसेको देखिन्छ ।

जनगणना २०७८ को विवरण सार्वजनिकपछि हर्षित पुन समाज  :
यता केही पुनहरु वा पुन समाज भने राष्ट्रिय जनगणना २०७८ को विवरण सार्वजनिक भएपछि निकै हर्षित भएको देखिन्छ । उनीहरुले लामो समयदेखि छुट्टै पुन जातिको माग गर्दै आएका थिए । यस पटक भने तथ्यांक कार्यालयले उनीहरुको इच्छा पुरा गरेपछि हर्षित भएका हुन् । यी समुदाय आफूहरुलाई केवल पुन जाति भन्न रुचाउँछन् । पुन समाजका व्यक्तिहरु आफ्नो भाषा, धर्म संस्कृति र इतिहास मगर जातिसँग मिल्दैन भन्ने तर्क राखेका छन् । यति भन्दै गर्दा पुन समाजका महासचिव भने पुन मगर नै हो भनेर आफ्ना भनाई राखेका छन् । यदि छुट्टिएर अलग भएका पुन समाज मगर नै हुन् भने किन तिनीहरु छुट्टिन चाहेका छन् ? कसको इशारामा तिनीहरु प्रिचालित भएका छन् ? भन्ने प्रश्न पनि सिर्जना भएको छ ।

यो विषयको छिनोफानो गर्ने काम भने मगर समुदायका नेतृत्वदायीको काँधमा आउँछ । यता आम समुदायका माउ संगठनले भने पुन मगर समुदाय भित्र पर्दछ भनेर दावी गरेका छन् किन कि पुन मगरले नै नेपाल मगर संघको स्थापना गरेका थिए । जसका आधारमा मगर संघको दावी छ । यो मात्र होइन विभिन्न इतिहासविदहरुले पनि पुन मगर नै हुन भनेर एकिनका साथ भनेका छन् ।

तर इतिहास साँची हुँदाहुँदै पनि अलग्गै पुन जाति भएर छुट्टिएकालाई बुझाउन नसक्नु माउ संगठन मगरसँगको टाउकामा दोष आउँछ । विगतका दिनमा भर्ति हुने क्रममा अन्य जातिका व्यक्तिले अवसरका लागि आफ्ना थरलाई लुकाई पुन लेखेकाहरुले अहिले आएर यस्तो गतिविधि गरेको भन्ने पनि मगर विज्ञहरुको भनाई छ । त्यस्ता अवसरवादीहरु आफ्ना जातमा फर्कन जायज छ तर सम्पूर्ण पुनहरु मगर होइनन् भन्नेहरुप्रति आम मगर समुदाय आक्रोशित भएका छन् ।

यस्तो अवस्था सिर्जना हुनुमा मगर संघ सञ्चालन गर्ने नेतृत्वदायीहरुको कमीकमजोरीका कारण यस्तो भएको हो भन्ने कुरा पनि गाइँगुइँ सुन्निछ । तथ्यांक कार्यालयको विवरण सार्वजनिक भए लगत्तै नेपाल मगर संघको गम्भीर ध्यानार्कषण भएको छ । मगर संघले ७७ वटै जिल्ला तथा यसका भातृ संघगठन तथा अन्तराष्ट्रिय मगर महासंघ लगायतले तथ्यांक कार्यालयले गरेको विवरण सच्याउन ज्ञापन पत्र बुझाउने तथा विज्ञप्ती निकाल्ने कार्य धमाधम भइरहेको छ ।

संघले तथ्यांक सच्याउन अल्टिमेटम दिर्दै पुन जाति भनी सार्वजनिक गरिएको ९ हजार ८ सय २७ को संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न तथ्यांक कार्यालयलाई अल्टिमेटम दिइएको छ । तर सम्बन्धित निकाय भने मौन देखिन्छ । ३१ गते मात्र आदिवासी जनजाति संघ, संस्थाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी गलत रुपमा आएको तथ्यांकलाई सच्याउन ज्ञापनपत्रमार्फत् सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिउत्तरमा प्रधानमन्त्री दाहालले कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने र उक्त तथ्यांक सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । हेरौं यस मुद्धाले कतिको सार्थकता पाउँछ त्यो चाँही समयले देखाउनेछ ।

मगर नेतृत्वहरुको नेतृत्वमा प्रश्नचिन्ह खडा :
इतिहासले बताउँछ, पुन मगर नै हो भनेर । त्यति मात्र होइन स्वयम मगर संघको स्थापना समेत पुन मगरले सुरुवात गरेको छ तर आज आएर पुन समाजले हामी मगर होइनौं हामी छुट्टै पुन जाति हौं भनेर मगरबाट अलगिएर टाढिएका छन् । हुँदाहुँदा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ ले समेत पुन जाति मगर नभई छुट्टै हुन भनेर डाटा सहित प्रतिवेदन विवरण सार्वजनिक गरिसकेको छ ।

यो अवस्था नआउन दिन मगर समुदायका नेतृत्वदायी भूमिका खेल्नेहरुले विगतका दिनमा के गरेर बसेका थिए भन्ने नैतिक दायित्व मात्र होइन, जातीय तथा सांगठनिक दायित्व पनि हराउँदै गइरहेको छ भन्ने स्पष्ट पारेको छ । के कारणले केही पुनहरु टाढिए ? के कारणले उनीहरु आफूहरुलाई मगर समुदाय भित्र गाँभ्न चाहन्नन् यसको खोजबिन किन हुन सकेन भन्ने विषयमा आज प्रत्येक मगर समुदाय भित्र गहन रुपमा छलफल भइरहेको छ । हामी देख्न सक्छौं सामाजिक सञ्जालका भित्ताभित्तामा तर यसको सही उत्तर आज पनि नेतृत्वकर्ताहरुले दिन सकिरहेका छैनन् ।

घटना घटनु अघि नै यस्ता विषयलाई मिलाएर राख्नु पर्ने हो घर भित्रको कुरा आज बजारीकरण भइरहेको छ यसको जिम्मेवारी कसले लिने ? आज यो भयो त्यो भयो भनेर सामाजिक सञ्चालनमा गुनासो गर्नुको कुनै तुक छैन भनेर एकथरी मगर जमातले भनिरहेका छन् । आज मगर समुदायको जनसंख्याको कुरा मात्र होइन आदिवासी जनजाति भित्र पर्ने राई, लिम्बु समुदाय लगायतका जातिमा पनि यस्ता गल्ती देखिएका छन् । हिजोका दिनमा मगर समुदाय भित्र पर्ने छन्त्याल तथा भुजेलपनि मगर भित्र थिए भन्ने कुरा हामी सबैलाई थाहा भएकै हो ।

पछि उनीहरु पनि छुट्टिएर आफ्नो बाटो लागे त्यसैगरी आज पुन पनि मगरबाट छुट्टिएर आफ्नो बाटो लाग्न थाली सके । अब यस्तो घटना इतिहासको कालखण्डमा पटक पटक दोहोरिने हो भने मगर समुदायको नेतृत्वदायी भूमिका निभाएर बसेको छु भन्दै ठूला ठूला स्वरले कराउनु र आवेशमा आएर मगर समुदायलाई हतोत्साही पारेर सामाजिक सञ्जालनका भित्तामा लेख्दा पनि अलि विचार गर्नु पर्ने हो कि भनेर पर्दा पछाडि बसि मगर समुदायका बारेमा चिन्तन मनन गर्ने मगरहरुले गुनासा गरेका छन् । उनीहरुको गुसानो कसले सुन्ने ? मैले वर्तमान अवस्थामा मगर समुदायप्रति भइरहेका टिकाटिप्पणीलाई जस्ताको तस्तै उतारी मगर समुदायका नेतृत्वसम्म पुर्याउने प्रयास मात्र गर्न खोजेकी हुँ ।

मगर समुदायका नेतृत्वकर्ताहरुले काम नगरी हात बाँधेर बसेका छन् भन्न खोजिएको होइन । मगर नेतृत्वदायीहरुले छुट्टिएर गएका पुनहरुलाई मगरजातिमा राजीखुशी गाभ्नेछ भन्ने विश्वास र आशा गरेका छन् आम मगर समुदायले । जातीय संगठन कसका लागि हो भन्ने कुरा स्पष्टसँग बुझ्नु पर्ने समय आएको छ । आफ्नै जातीय समुदायबाट मगरहरु विस्तारै विलिनहुँदै अर्कै जाति बनाउँदै गयो भने आउने दिनमा मगर समुदायको अस्त्तिव के होला ? यस बारेमा नेतृत्वकर्ताले गम्भिर भएर सोंच्नुपर्दछ, होइन भने यस्ता घटनाहरु बारम्बार घटिरहनेछन् र दोष राज्यसत्तालाई दिएर पनि अर्थ हुने छैन ।

राज्यसत्ताको जिम्मेवारी र कर्तब्य :
राज्यसत्ता भनेको आम नेपाली जनताको अभिभावक हो । कुनै सन्तानलाई काखा र कुनै सन्तानलाई पाखा गर्नु कदापि एउटा राष्ट्रको अभिभावकलाई सुहाउँदैन । यदि आफ्ना सन्तानहरु केही कुरा नमिली झैझगडा तथा गुनासा गरेका छन् भनेपनि त्यसलाई मिलाउनु पर्ने र सम्झाउनु पर्ने राज्यको काम र कर्तब्य हो । राज्यसत्ताले अर्को कुरापनि सधैं हेक्का राख्नु पर्ने हुन्छ । मगर जातिको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वास ।

नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरहरुको थर तथा उपथरहरु अन्य गैरमगरहरुसँग मिल्ने र मिलाउने भएको हुँदा जनगणनाले सही तथ्यांक दिन नसकेको अवस्था हाम्रो सामु जगजाहेर छ । यस विषयमा गहिरिएर अध्ययन तथा अनुसन्धान हुनुपर्छ तर हुन सकिराखेको छैन । यसको हिसाब किताब कसले लिने ? जसको यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हाम्रा अगाडि धेरै छन् ।

यस्ता विषयमा सम्बन्धित निकायलाई राम्रो छ ज्ञात छ, तर बुझेर पनि बुझ पचाई राखेका छन । यस विषयमा राज्यसत्ताको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ताकि मिलेर बसेका मगर समुदायलाई फुटाउने होइन कि उनीहरुलाई आफ्नै घरभित्र राजीखुशी मिलेर बस्ने बवातावरण राज्यले सिर्जना गर्नुपर्छ । त्यसैगरी छुट्टिएर गएका पुन समुदायले पनि एक पटक आफ्नो इतिहासलाई बुझेर साँच्चै नै पुन थर पनि मगर हुन भनेर हृदयमा आभास हुन्छ भने हजुरहरु आफ्नै विशाल घर भित्र फर्किएर आउने हिम्मत गर्नुपर्छ ।

यदि हजुरहप्रति मगर समुदायका नेतृत्वकर्ताले समस्या, पीडा तथा अफ्ठयारोमा पारेका छन्, अधिकारका विषयमा तलमाथि पारेर अवसरबाट बञ्चित गरेका कारण त्यसको बदलामा टाढिन खोज्नु भएको हो भने बसेर छलफल बहस गरेर निचोडमा पुग्नुपर्ने हुन्छ । यदि हजुरहरु पुन मगर नै होइन भने कसैले रोकेर पनि रोक्न सकिन्न । सबैले बाँचुन्जेल आआफ्नो कर्म गरेर खाने हो र प्रत्यक मानिसले मानव अधिकारको प्रत्याभूति पनि गर्न पाउनु उसको नैसर्गिक अधिकार हो ।

सबै भन्दा ठूलो कुरो हामी मानव हौं मानवताको ह्रदयले यो संसारमा मिलेर बस्नु एक अर्काको भावनालाई सम्मान गर्नु नै मानवीय धर्म हो । त्यसकारण यो गम्भीर विषयमा चाँडो भन्दा चाँडो तत् सम्बन्धित निकाय, समुदाय, व्यक्तित्वहरुको जमातले छलफल गरि निकासमा पुर्याउनुको विकल्प छैन । होइन भने यो विषयले आउने दिनमा उग्र रुप लिर्दै जानेछ । जसका कारण व्यक्ति, समुदायहुँदै राष्ट्र र विश्वमा नै समस्या खडा गर्नेछ । यो विषयलाई तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यान जावस् ।

समग्र भन्नुपर्दा मगर समुदायले आफ्नो पहिचान र अस्तित्व गुमाउने काम गर्नु हुँदैन । यदि घर भित्रै मिलेर बसेको भए आज यो दिन देख्नु पर्ने थिएन तर हामी भित्रैबाट गल्ती कमी कमजोरी भएको छ । यो कुरा मगर समुदायका नेतृत्वदायीहरुले बुझ्न जरुरी छ । र जातीय समुदायको कमजोरीलाई मिलाउनुको साटो झनै राज्यसत्ताले मौकामा चौका हान्नुले नियतमा खोट छ भन्ने स्पष्ट देखिन्छ । त्यसकारण पुन विवादको घटनालाई राज्यसत्ताले चाँडो भन्दा चाँडो निकास दिन सफल होस् ।