काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका हज समितिका अध्यक्ष शमशेर आफ्ना कानुन व्यवसायीको बहसपछि इजलासमै भक्कानिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार १०औँ दिन पनि थुनछेक बहस जारी रह्यो ।
अभियुक्त बनाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट १५ कानुन व्यवसायीको बहसपछि बुधबार मियाँको तर्फबाट बहस सुरु भएको थियो । उनको पक्षमा अधिवक्ता ऋषिराम घिमिरेले बहस गरेका थिए । कोभिडको समयमा अभियुक्तमध्येका सन्देश शर्मालाई गाडी प्रयोग गर्न दिएकै आधारमा मियाँविरुद्ध मुद्दा दायर गरिएको दाबी गरे ।
घिमिरेले कोभिडको समयमा मानवताका आधारमा सहभियुक्त सन्देशलाई आफ्नो गाडी प्रयोग गर्न दिएको र उक्त गाडी कुनै आपराधिक कार्यमा प्रयोग गर्न नदिएको बताए । मियाँलाई गाडी दिएकै आधारमा पूर्पक्षका लागि थुनामा राख्दा उनको वैयक्तिक स्वतन्त्रता हनन हुने घिमिरेको तर्क थियो ।
मियाँलाई तथ्यको अज्ञानता भएकाले उनीविरुद्ध कुनै पनि कसुर पुष्टि नहुने घिमिरेको दाबी थियो । करिब दुई घण्टाको बहसपछि घिमिरेले मियाँलाई अदालतले चाहेको समयमा उपस्थित हुने गरी रिहा गर्न माग गरे । बहस सकिएसँगै मियाँले घिमिरेलाई बोलाए । मियाँले हात जोडेर घिमिरेलाई धन्यवादसमेत दिए । केही समय मियाँसँग बोलेपछि घिमिरे बिदा भए ।
घिमिरे इजलासबाट बाहिर ननिस्किँदै मियाँले इजलासमा बसेको ठाउँबाटै गहभरि आँसु निकाल्दै रोए । थुनछेको बहसको १०औँ दिनसम्म चुपचाप रहेका मियाँको बल्ल आज पालो आएको थियो । उनीविरुद्ध सहभियुक्त सन्देश शर्मालाई गृह मन्त्रालयले उपलब्ध गराएको गाडी दिएको आरोप लागेको छ ।
सोही गाडी प्रयोग गरी विभिन्न समयमा रकम संकलनमा प्रयोग भएको प्रमाण भेटिएको थियो । उनीसहित ३० जनाविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगीसहित किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ ।