• आश्विन १२ २०८१, शनिबार

यि हुन् सरकारको खर्चमा विदेश गएका ३० सरकारी अधिकृत, जो उतै लुकेर बसे

जेष्ठ ३१ २०८०, बुधबार

काठमाडौं । सरकारी कोटामा विदेशमा अध्ययन गर्नका लागि गएका ३० सरकारी कर्मचारी नेपाल नै नआइ उतैबाट गायब भएका छन्। राज्यले विज्ञ जनशक्ति उत्पादनका लागि कमर्चारीलाई विदेशमा अध्ययनका लागि पठाउने गर्दछ । त्यहाँ पढेको शिक्षा र सिकाइलाई नेपालमा प्रयोग गर्ने उद्देश्य सरकारले राखेपनि धेरै जसो सरकारी कर्मचारी छात्रवृतिको दुरुपयोग गरेर नेपाल नफर्कने गरेका छन् ।

त्यसरी सरकारी छात्रवृतिमा विदेशमा पलायन हुनेहरुमा कृषि मन्त्रालयका मात्रै १८ जना छन् । सहरी विकास मन्त्रालयबाट विदेश गएका एक जना इन्जिनियर,अर्थ मन्त्रालयको एक जना शाखा अधिकृत छन् । त्यस्तै उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागका बरिष्ठ भूगर्भविदसहित ४ जना विदेश गएर फर्केनन् । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय २ जना उपसचिवसहित ६ जना नेपाल फर्केनन् । साथै स्वास्थ्य मन्त्रालयको ८औँ तहका एक कर्मचारी अमेरिका गएर नेपाल आएनन् ।

सरकारले उनीहरुलाई हाजिर हुन आउनका लागि आह्वान पनि गर्यो । तर उनीहरु विदेशबाट नेपाल नै आएनन् ।  अध्ययन पूरा भएपछि सामान्यतय ९० दिनमा कार्यालयमा हाजिर हुन आउनुपर्ने हुन्छ तर उनीहरु वर्षौदेखि वेपत्ता छन् । कतिपय कर्मचारीलाई सेवाबाट समेत हटाइसकेको छ भने केही अझै प्रक्रियामा छन् । सेवाबाट हटाउनु पूर्व राष्ट्रिय पत्रिकामा सूचना निकाल्नुपर्ने हुन्छ । त्यसरी सूचना निकालेसँगै लोकसेवा आयोगलाई जानकारी गराएसँगै सेवाबाट निष्काशन गर्न सकिने निजामती सेवा ऐनमा व्यवस्था गरिएको छ ।

निजामती सेवा ऐनमा विदेशमा अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि नेपाल फर्केर निश्चित समय अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । सरकारको मनोनयनमा अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन पूरा गरेपछि सुविधा लिनुअघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा सेवा गर्नुपर्ने न्यूनतम अवधि उल्लेख छ । त्यसमा तीन महिनासम्म अध्ययन वा तालिम गरेकाले एक वर्ष र तीन महिनादेखि ६ महिनासम्म गरेकाले डेढ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ६ महिनादेखि नौ महिनासम्म अध्ययन वा तालिम गरेको कर्मचारीले दुई वर्ष, नौ महिनादेखि एक वर्षसम्म गरेकाले तीन वर्ष र एक वर्षदेखि दुई वर्षसम्म गरेकाले चार वर्षसम्म सरकारले तोकेको अनिवार्य सेवा गर्नुपर्छ ।

सरकारी छात्रवृत्तिमा अस्ट्रेलिया पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्रप्रसाद अधिकारीले दुई वर्षे अध्ययन अवधिभर सरकारी तलब सबै बुझेर नेपालमा नआएर राज्यलाई घात गरे । मन्त्रालयको अभिलेख अनुसार अधिकारी १५ मंसिर ०७६ देखि सम्पर्कमा छैनन् । त्यस्तै कृषि मन्त्रालयकै उपसचिव श्रेणीकै वरिष्ठ कृषि प्रसार अधिकृत जयन्तीकुमारी भुसाल विदेश अध्ययन सकिएपछि गायब छन् । बाली संरक्षण अधिकृत भीम चौलागाईं पनि छात्रवृत्तिका लागि बिदा स्वीकृत गराएर विदेश गएका उनी पनि आएनन् । १५ साउन ०७६ देखि उनी सम्पर्कविहिन छन् ।

बाली संरक्षण अधिकृत रामकृष्ण कहार पनि छात्रवृत्तिमा विदेश अध्ययन गरेर फरार छन् । कृषि अर्थविज्ञ कृपा ढकालसमेत छात्रवृत्तिमा विदेशमा अध्ययन गरेर नेपाल फर्किनन् । भेटेरिनरीतर्फका उपसचिवद्वय खड्कसिंह विष्ट र शिवचन्द्र घिमिरे छात्रवृत्ति सकेर विदेशमै वेपत्ता भए । विष्ट ७ पुस ०६७ र घिमिरे १५ चैत ०५७ मा अध्ययनका लागि विदेश उडेका थिए ।

१४ असोज ०७३ मा छात्रवृत्ति स्वीकृत गराएर विदेश गएका अर्का उपसचिव कमलराज आचार्य पनि उतै गायब भए । त्यस्तै, भेटेरिनरी अधिकृतहरू तोयानाथ बराल, तुलसीराम थापा, विनु श्रेष्ठ, सुवास सिवाकोटी, अञ्जनकुमार चालिसे विदेश अध्ययन सकेर फर्किएनन् । बरालको ७ पुस ०५६, थापाको २५ असोज ०५५, श्रेष्ठको ५ जेठ ०६९, सिवाकोटीको ३० पुस ०७० र चालिसेको १४ कात्तिक ०५३ मा छात्रवृत्ति स्वीकृत भएको थियो ।

त्यस्तै, शाखा अधिकृत श्रेणीका पशु चिकित्सकहरू रिमादेवी श्रेष्ठ, घ्याग्याल्पो पुनेल र यादव शर्मा बजगाईं पनि सरकारी छात्रवृत्तिमा विदेश पढेर देश नफर्किनेको सूचीमा छन् । श्रेष्ठको ५ जेठ ०६९, पुनेलको १६ पुस ०५५ र बजगाईंको ११ पुस ०७४ मा छात्रवृत्ति स्वीकृत भएको थियो ।

जो सरकारी कोटामा विदेश गएर नेपाल फर्केनन्

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागकी इन्जिनियर सुवर्णशोभा शाक्य सरकारी सुविधामा १२ साउन ०६७ मा नेदरल्यान्ड गइन् । उनी उतैबाट वेपत्ता छिन् ।

अर्थ मन्त्रालयकी शाखा अधिकृत विजया आचार्य पनि सरकारी छात्रवृत्तिमा विदेश पढेर उतै पलायन भइन् । सरकारी छात्रवृत्तिमा ०६३ मा अमेरिका गएकी उनी जागिर छाडेर उतै बसेकी हुन् ।

स्वास्थ्य मन्त्रालयकी आठौँ तहकी सोनिया कोइराला छात्रवृत्तिमा अमेरिका गएर फर्किइनन् । ०७३ मा अमेरिका गएर पढ्न सुरु गरेकी उनी ०७६ मा पढाइ सकेपछि उतै बसिन् । सरकारले उनको शिक्षाका लागि एक करोड लगानी गरेको थियो । सो लगानी बालुवामा पानी सरह भएको छ ।

खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भविद् सुदीप श्रेष्ठ क्यानाडा गएकामा फर्किएनन् । अमेरिका गएका भूगर्भविद् रोशन कोइराला उतै रमाएर बसे । भूगर्भविद् सन्तोष अधिकारी अध्ययनका लागि चीन गएका थिए । उनी पछि चीनबाट फर्केर अमेरिका गएका छन् । सहायक भूगर्भविद् सम्झना बुढाथोकी छात्रवृत्तिमा जापान गएर फर्किएकी छैनन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट छात्रवृत्तिमा विदेश गएर ६ कर्मचारी नेपाल फर्किएनन् । अध्ययन सकाएपछि उपसचिवहरू मेकानिकल सिडिई हरिचरण घिमिरे र हाइड्रोलोजिस्ट विजयकुमार पोखरेल वेपत्ता भए । सिभिल इन्जिनियरद्वय प्रभा शाह र प्रमिला अधिकारी, शाखा अधिकृत केमिस्ट विष्णुप्रसाद सुवेदी र इन्जिनियर शैलेन्द्र सिंह उतै लुकेर बसे ।