नयाँ दिल्ली । भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ । ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन् । भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन् ।
भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए । यस्तै, सरकार विरोधी पत्रकार तथा आलोचकहरुको ट्वीट सेन्सरका लागि पनि भारत सरकारले दबाब दिएको उनले बताएका छन् । डोर्सीको आरोप भारत सरकारले अस्वीकार गरेको छ ।
‘उनको यो आरोप सरासर झुठो र मनगढन्ते छ । ट्वीटरका कुनै पनि कर्मचारीका घरमा छापा मारिएको वा उनीहरुलाई गिरफ्तार गरिएको छैन । ट्वीटरले बरु भारतीय कानुनको पालना समेत गरेन । उसलेको भारतीय स्वाधिनताको सम्मान गरेन,’ संघीय मन्त्री राजिव चन्द्रशेखरले भनेका छन् ।
ट्वीटरले भारतको कानुन उसलाई नलाग्ने तरिकाले प्रस्तुत भएको मन्त्री चन्द्रशेखरको आरोप छ । ट्वीटरले वाक स्वतन्त्रताको नाममा अप्ठ्यारो पारेको बहस धेरै मुलुकमा चलिरहेको अवस्थामा डोर्सीको यस्तो प्रतिक्रिया आएको हो । डोर्सीले सन् २०२१ ट्वीटर छोडेका थिए ।
डोर्सीले टर्की सरकारले समेत भारतकोझैँ दबाब ट्वीटरलाई दिएको बताएका थिए । ‘भारत र टर्कीले सरकारको आलोचना गर्ने पत्रकारका एकाउन्ट बन्द गर्न पटक-पटक दबाब दिएका थिए । भारतले पनि किसान आन्दोलनबारेका ट्वीट हटाउन र सेन्सर गर्न दबाब दियो । यसको नगरे भारतमा ट्वीटर बन्द गर्नेदेखि कर्मचारीको घरमा छापा मार्ने र ट्वीटरमाथि अन्य कारबाहीको धम्की दियो । र यो लोकतान्त्रिक मुलुकको भारतको ट्वीटरप्रतिको दबाब थियो,’ डोर्सीले भनेका छन् ।
भारतमा करोडौँले ट्वीटर प्रयोग गर्छन् । किसान आन्दोलनको क्रममा करोडौँको संख्यामा ट्वीट भएको थियो । कृषि कानुन सुधारको माग गर्दै भएको आन्दोलनबारेका ट्वीट पाकिस्तानको समर्थन प्राप्त शिख उग्रपन्थीले गरेको भन्दै भारतले ट्वीटरलाई सेन्सरको दबाब दिएको डोर्सीको भनाइ छ । शान्तिपूणर् किसान आन्दोलनमा हिंसा भड्किएपछि भारत सरकारले ट्वीटरलाई तीब्र दबाब दिएको डोर्सीको भनाइ छ ।
पहिलो चरणमा त्यसबेला ट्वीटरले २५० भन्दा बढी खाता बन्द गरेको थियो । त्यसमा पत्रपत्रिका तथा अधिकारकर्मीको एकाउन्टहरु थिए । एकाउन्ट बन्द गरेको ६ घण्टामै ट्वीटरले ती खातालाइ पुन सक्रिय बनाएको थियो । सरकारको आरोप पुष्टि हुने पर्याप्त कारण फेला नपरेकाले खाता पुन सक्रिय बनाएको ट्वीटरले बताएको थियो । ट्वीटरले खाता सक्रिय बनाए लगत्तै सरकारले फेरि दबाब दिएको र आदेश नमाने सात वर्षसम्म जेल सजाए दिने धम्की दिएको ट्वीटरका पूर्व सिइओ डोर्सीको भनाइ छ ।
सरकारको आदेशलाई अस्वीकार गर्दै ट्वीटरले त्यसबेला दिएको जवाफबारे डोर्सी भन्छन्,‘बन्द गरिएका खाता पत्रपत्रिका तथा मानवअधिकारकर्मीको रहे को छ । उनीहरूको खाता बन्द गर्नु भनेको भारतीय संविधानले वाकस्वतन्त्रता बारे प्रत्याभूत गरेको मौलिक हक हनन गर्नु हो ।’
त्यसयता ट्वीटर र मोदी सरकारको सम्बन्ध निकै चिसिएको थियो । भारतमा अहिले बनेको कानुनले ट्वीटर तथा फेसबुकलाई सरकारको सिधै निगरानीमा राखेको छ । सरकारले यो कानुन घृणाको अभिव्यक्तिलाई नियन्त्रणमा ल्याउन लागि रहेको बताएको छ तर जानकारहरु भने यो कानुन सेन्सरसिपका लागि रहेको बताउँछन् ।
एनल मस्कले पनि भारतीय कानुन निकै कडा रहेको बताएका थिए । डोर्सीले भारत पनि टर्की र नाइजेरिया जस्तो अधिनायकवादी पथमा अघि बढेका बताएका छन् । ‘टर्की र नाइजेरियाले ट्वीटरमाथि धेरै प्रहार गरे । भारत पनि त्यही अधिनायकवादी पथमा छ ।
टर्कीकै अदालतमा ट्वीटरले सरकारविरुद्ध मुद्दा जित्यो । टर्कीले पनि कर्मचारीलाई धम्की दिएको थियो । नाइजेरियामा हामीले कर्मचारी राख्न नसक्ने खालको त्रास थियो । भारत पनि त्यतै अघि बढिरहेको छ,’ डोर्सीले भने ।