• आश्विन १८ २०८१, शुक्रबार

जीवन जोडेर भन्दा छोडेर सार्थक

जेष्ठ ३० २०८०, मंगलवार

सिद्धार्थ गौतमले राजसी सुख, सयल, घर, परिवार छोडेर हिँडे । उनी लोभ, लालच, राजसी सुख, सयलजस्ता कुरालाई छाड्न नसकेको भए उनको जीवन सार्थक हुने थिएन । विश्व जगतमा बुद्ध धर्मको स्थापना हुने थिएन ।

बुद्ध जन्मिएको देश भनेर नेपाललाई संसारले चिन्ने थिएन । बुद्ध दर्शनबाट समाज बञ्चित हुने थियो । गौतम बुद्धकाअनुसार तृष्णा वा आशक्ति दुःखको कारण हो । हाम्रो व्यबहारिक जीवनमा पनि बुद्धको दर्शन उपयोगी छ ।

तृष्णाकै कारण भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोड्नेहरू कालो कोठरीमा गएका छन् । जाँदै छन् । समाजमा कुपात्रको रूपमा दर्ज भएका छन् । देशको सुशासन र विकासका बाधक भएका छन् ।

त्यसैले सम्पत्ति कमाउने बाटो गलत भएमा सुख होइन, दुःख निम्तिन्छ । जीवन निरर्थक हुन्छ । हाम्रो देशको सन्दर्भमा सम्पत्ति जोड्नको लागि घुस लिने र दिनेहरूको ‘नेक्सस’ व्यापक छ ।

व्यापारी, ठेकेदार, कर्मचारी, विचौलिया, तस्करहरूबाट घुसपैठका कामहरू हुने गरेको समाचारहरू आउने गरेका छन् । समाजको शिक्षित भनिएको सचेत वर्ग समेत स्वार्थका लागि सत्ता र शक्तिको पुजारी भएको देखिन्छ ।

पैसा दिएर पदमा जानेहरू पनि सम्पति जोड्नकै लागि मरिहत्ते गर्दछन् । पृथ्वीनारायण शाहले भ्रष्टाचार गर्नेहरू देशका शत्रु हुन् भनेका छन् । हाम्रो देश भ्रष्टचारका कारण माथि उठ्न सकेन ।

शासक, प्रशासकहरू पद, पैसा र शक्तिमा रमाउने गरेको देखिन्छ । लोभ विनासको बाटो हो । दुःखको कारण हो । लोभले लाभ, लाभले विलाप भन्ने उखानले पनि लोभको परिणाम दुःख हो भन्ने अर्थ दिन्छ ।

तर पनि मानिस लोभ, लालचको दलदलमा फसेको छ । सम्पत्ति आर्जनमा साम, दाम, दण्ड भेद अपनाएको पाइन्छ । सम्पत्तिकै कारण घर, परिवार, दाजुभाइ तथा आफन्तजनहरूसँगको सम्बन्ध चिसिएका थुप्रै घटनाहरू सुनिन्छ । देखिन्छ ।

पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उक्ति हाम्रो समाजमा चरितार्थ छ । त्यसो त पैसाको आवश्यकतालाई अस्वीकार गरेर जीवन चल्दैन । पैसा चाहिन्छ । तर मेहनत गरेर कमाउनु पर्दछ ।

आफ्नो क्षमतामा रमाउनु पर्दछ भन्ने हो । पैसाको लागि जस्तो सुकै कर्म गर्न पनि अग्रसर हुनु हुँदैन भन्ने हो । अहिले समाजमा ठगी, तस्करी, चोरी, भ्रष्टचार, कमिसनतन्त्रको अर्थनीति फष्टाएको छ । जीउनका लागि पैसा चाहिए तापनि पैसाकै लागि एकले अर्कोलाई ठग्ने, ढाट्ने वा लुट्ने काम गर्नु हुँदैन ।

भौतिक सम्पत्ति जोडेर ऐस, आराम, सुख, समयलको जीवन जीउने इच्छा प्रायः सबैलाई हुन्छ । मेहनतगरी सम्पत्ति जोड्नेहरू कर्मयोगी हुन् । इमानदार हुन् । मेहनतको फल मिठो हुन्छ ।

तर आजको मानिसले मिहेनत गरेर जीवन चलाउनुभन्दा पनि सजिलो आयआर्जनको बाटो अपनाएको देखिन्छ । भौतिक सुख सुविधाको लागि भ्रष्ट हुन पनि तयार छ । व्यक्तिगत फाइदाको लागि साम, दाम, दण्ड, भेद जे पनि जायज ठान्दछ ।

देशको ढुकुटी र सुविधालाई संस्थागत गरी दोहन गर्ने राजनीतिक अभ्यास छ । प्रशासनतन्त्रमा त्यस्तै भ्रष्ट अचार छ । कालोबजारी, तस्करी, चेलीबेटी बेचविखन, विचौलिया, दलाली, खाद्यान्नमा मिसावट, दूधमा पानी, महमा चास्नी, वेसारमा पिठो, तरकारी र फलफूलमा विषादि आदि कर्महरू सम्पत्ति जोड्ने धन्दाकै कुकर्म हुन् ।

यी सबै अधर्म हुन् । पेसागत अमर्यादित क्रियाकलापहरू हुन् । हाम्रो देशमा सुशासन र विकास हुन नसक्नुको मुख्य कारण सत्ता र शक्तिमा भएकाहरूको लोभ हो । पदको लोभ । पैसाको लोभ । सम्पत्ति जोड्ने लोभ ।

सरकार भत्काउने र बनाउने खेल पनि यस्तै लोभी इच्छाशक्तिबाट सिर्जनाको कुकर्म हो । त्याग र वलिदानविना देश बन्दैन । भूपि शेरचनको कवितामा ‘हँुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपुत मरेर नगए’ भन्ने कविता लेखे ।

देशमा प्रजातन्त्र ल्याउन र देश बनाउनको लागि दुईचार सपुत मात्र होइन । नेपाल आमाका धेरै सपुतहरू मरेर गए । तर देश बनेन । बाँचेकाहरूले बनाउन सकेनन् ।

हाम्रा सहिदहरूले सम्पत्ति मात्र होइन, देशको लागि जीवन नै छाड्न सके । धर्मभक्त, गंगालाल, शुक्रराज शास्त्री, दशरथ चन्द लगायतले सम्पूर्ण कुरा त्यागे । उनीहरूले जन्मलाई सार्थक बनाए ।

तर उनीहरूको सपनालाई पूरा गर्न सक्ने सक्षम व्यक्ति मुलुकले पाउन सकेन । सुशासन र देश विकास गर्ने मुख्य ठाउँमा रहेका शासक प्रशासकहरू लोभबाट मुक्त हुन सकेनन् ।

१९९७ सालको सहिद प्रकरण पछाडि पनि इतिहासका विभिन्न कालखण्डहरूमा देशको लागि धेरै मानिसहरू ज्यान दिएका छन् । व्यवस्था बदल्नका लागि ठूलो योगदान गरेका छन् ।

तर लोकतान्त्रिक व्यवस्था सञ्चालकहरू लोभ, लालच र जाल झेलबाट बाहिर आउन सकेनन् । त्यसो त इतिहासमा सम्झन लायक त्यागी व्यक्ति एवम् व्यक्तित्वहरू पनि छन् ।

वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतहरूको योगदान सम्झन लायक छ । तर यस्ता त्यागीहरूको जीवनपश्चात् उनीहरू शक्ति र सत्तामा आएकाहरू सम्पत्ति जोड्नतर्फ लागे ।

घर, गाडी, वैंक व्यालेन्स वा सुखसयलको जीवनलाई नै सार्थक ठाने । सत्ता खोस्न र आफन्तजन पोस्नमा नै समय बिताए । सत्ता र भत्तामा रमाए । देश र समाजलाई उल्लेख्य योगदान दिन चुके ।

अहिले समाजका हरेक क्षेत्रहरूमा असल काम गरेर योगदान पुर्याउने भन्दा आफ्नो स्वार्थको रोटी सेक्नेहरूको बिगबिगी छ । व्यापार, व्यवसाय, प्रशासन, समाज सेवा लगायतका ठाउँहरूमा भ्रष्ट मति, लोभ, लालच, भएकोले हरेक क्षेत्रहरू कमजोर हुन पुगेका छन् ।

वर्तमान समाजमा देखा पर्ने घटनाहरूले मानिसहरू बदनाम हुनबाट डराउन छाडेको भान हुन्छ । लोकलज्जा त्यागेको अनुभूति हुन्छ । जीवन र जगतको मूल्य बुभ्mनेहरूको लागि सम्पत्ति जोड्न मात्र ठूलो कुरा होइन ।

कसले कति सम्पत्ति जोड्यो भन्ने विषय सभ्य एवम् सचेत समाजको चासोको विषय होइन । बरू कसले समाज र देशको लागि योगदान दिन सक्यो भन्ने कुराले दीर्घकालिन अर्थ राख्दछ ।

त्यसो त समाजमा असल मानिसहरू पनि छन् । सत्कर्म गर्नेहरू पनि छन् । सुनाम, कुनाम र बदनामको भेद छुट्याउन सक्नेहरू पनि छन् । तथापि व्यक्तिगत स्वार्थका लागि जस्तो पनि कर्म गर्नेहरूको संख्या बढिरहेको छ ।

भौतिक सुख प्राप्तिलाई उपलब्धी सोच्नेहरूको लागि सम्पत्ति ठूलो होला । पैसा सबै थोक होला । यस्तो चिन्तन र चरित्र बोकेकाहरू ऐस, आराम र पदमा मैमत्त भएर आफूलाई अरूभन्दा फरक वा ठूलो सम्झने गर्लान् ।

परन्तु तिनीहरू जुनकिरी जस्ता हुन् । न त तिनीहरूले समाजलाई केही योगदान दिन सक्दछन्, न त सम्झन लायक कुनै काम नै गर्न सक्दछन् । हरेक वर्ष सरकारले ल्याउने बजेटबाट जनताले राहात पाउनुको सट्टा आहात पाउने गरेका छन् ।

अहिले सर्वहारा दल भनिने माओवादीको नेतृत्वमा रहेको सरकारको बजेटले सर्वसाधारणको पेटमा लात हानेको भन्नेहरू धेरै छन् । सरकारले नेपालीहरूको चुलोमा आवस्यक पर्ने सामाग्रीहरूमा कर लगाएर जनतालाई महङ्गीको मारमा पारेको छ ।

तरकारी र फलफूलमा भ्याट लगाएको छ । देशमा उत्पादन गरेर सहज बनाउनु पर्नेमा विदेशबाट किनेर खानु पर्ने वस्तुमा समेत कर बढाएर अमानवीय व्यबहार देखाएको छ ।

अति गर्नु अत्याचार नगर्नु भनिन्छ । अब त नेपाली जनतामाथि अत्याचार भयोभन्ने सामाजिक आक्रोश बढेको छ । अन्त्यमा, देश बदल्ने हो भने नेपाली जनताले सोच बदल्न जरूरी छ ।

जनताले राजनीतिक दलहरूप्रति रहेको अन्धभक्त चिन्तन भत्काउन आवश्यक छ । देशमा सुशासन र विकास चाहाने हो भने नागरिकहरूले राजनीतिक दलका पछाडि लागेर होइन, दलीय आस्था छोडेर स्वतन्त्र नागरिक बन्न सुरू गरौं ।

गुण र दोषका आधारमा हरेक विषयवस्तुहरूको मूल्याङ्कन गर्न सिकौं । ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’ अर्थलाई मनन् गरौ ! यो जन्मभूमिलाई फूलाउने, फलाउने, संरक्षण गर्ने क्रममा हामीहरू कमजोर भयौं ।

देशको लागि सचेत नागरिकको भूमिका निर्वाह गर्न सकेनौ । अब ढिला भैसकेको छ । पद र पैसाको लोभमा कालोलाई सेतो र सेतोलाई कालो नभनौं ।

जसरी व्यवस्था बदल्न एक ठाउँमा उपस्थित भएका थियौं, त्यसैगरी देशको विसङ्गति र विकृतिका सर्जकहरूका विपक्षमा सबै एक ठाउँमा जुटौं ।