• मंसिर ११ २०८१, मंगलवार

इस्लामिक शब्दहरुको गलत व्याख्या गरिएको बारे

जेष्ठ २९ २०८०, सोमबार

शक्ति र सत्ताको वर्जस्व कायम राख्नका लागि आफूलाई मुसलमानहरुले र कहिले ‘मुसलमानहरु नराम्रा हुन्छन्’ भनी भ्रम फैलाउनेहरुले इस्लामका केही शब्दहरुलाई गलत व्याख्या गरेका छन् । कोही मुसलमान छ भने उसलाई स्वर्गको लोभ र नर्कको डर देखाएर, कोही मुसलमान होइन भने उसलाई नरसंहारको डरको साथै सत्ता शक्ति अनि धनको लोभ देखाएर बेलाबेलामा समाजमा अशान्ति र अराजकता फैलाएकै हुन्छन् ।

हाल बिग्रिँदै गरेको सामाजिक सद्भाव त्यसैको परिणाम हो । जुन आपसी प्रेम सद्भाव पुनः कायम गरी सभ्य र असल नागरिक समाजको सृजना गर्न अब हामी जिम्मेवार हुने बेला आएको छ । हामीले अब हरसम्भव प्रयास गरी समाजमा सृजना भएको साम्प्रदायिकताको कारण पत्ता लगाई असहज परिस्थितिलाई पुनः सद्भाव र शान्तिपूर्ण वातावरण निर्माणका लागि पहल गर्नुपर्नेछ ।

समाजलाई सभ्य बनाउन इस्लामिक शब्दको बारेमा गरिएका गलत व्याख्याहरुले फैलाएको भ्रम हटाउन जरूरी छ । इस्लाममा रहेका कट्टरवाद, काफिर, जिहाद र लभजिहाद जस्ता शब्दलाई आफूखुशी व्याख्या गरेको हुनाले समाजमा यसका बारेमा वास्तविकता भन्दा फरक चित्र तयार पारियो । आज यो लेखमार्फत् कट्टरवाद, काफिर, जिहाद र लभजिहाद जस्ता शब्दका वास्तविक परिभाषा र यिनको बारे फैलाइएको भ्रम चिर्दै इस्लामको वास्तविकतालाई दर्शाउने प्रयास गरिएको छ ।

सानासाना कुराहरुमा झूठ बोल्ने मानिसहरुमध्ये केही मुसलमान हामी बीच नै छन् । हरेक शब्दमा विष ओकलिने मानिसहरु पनि हामी बीचमै छन् । बच्चाहरुको झगडा होस् वा धनसम्पतिका नाममा होस् । सद्भाव बिथोल्न साम्प्रदायिक हिंसामा लाग्ने र व्यक्तिगत स्वार्थ पूर्ति गर्ने मानिस पनि हामी बीचमा धेरै छन् । यसैगरी सार्वजनिक सम्पत्ति तहसनहस गर्ने र मान्छेले मान्छेलाई कुटपिट गर्नेहरु पनि हामी बीच नै छन् ।

जसरी भएपनि फलानोलाई परास्त गर्ने र उसलाई पीडा दिने र दिलाउने कारण बन्नेहरु पनि हामी बीच नै छन् । सद्भाव र अपनत्वका साथ सदियौंदेखि एक अर्काका छिमेकी भएर बसिरहेका मानिस आज मनले टाढा भइसकेकाछन् । पल्लो गाँउमा समस्या पर्दा सहयोगका लागि जुट्ने समाजमा आज छिमेकी बितेको पनि थाहा हुँदैन । किनभने प्रेम र अपन्त्व हराउँदै गइरहेको छ ।

संसारमा यतिसम्म सम्प्रदायिकता फैलिरहेको छ कि एक परिवारले अर्को परिवारलाई, एक वर्गले अर्को वर्गलाई, एक समुदायले अर्को समुदायलाई र एक धर्मावलम्बीले अर्को धर्मावलम्बीलाई आफ्नो शत्रु ठान्न थालेका छन् । अराजकताको हद यति छ कि शत्रु ठानेर विभिन्न निहुँमा मानवतालाई लज्जित बनाउने खालका यातना दिन पनि तयार हुन्छन् । यही साम्प्रदायिकता, विभेद, घृणा र अराजकताको परिणाम यो छ आज संसार भरी एक तवरको त्रासको कारण भयावह माहोल सृजित छ ।

फरक धर्म, समुदाय र वर्गको बाहुल्यता कम भएको ठाँउमा बस्न डराइरहेकाछन् । यहाँसम्म कि कतिपय ठाँउमा त बाहुल्यता नभएकाहरुलाई बाँच्न नै गाह्रो भइसकेको छ । यो सबको कारण इस्लाम धर्म मान्नेहरुलाई अरु धर्म समुदायको बारेमा नकारात्मक धारणा बनाइदिएको कारणले हो । अरु धर्म र समुदायका व्यक्तिहरुको मनमस्तिष्कमा इस्लामको बारेमा गलत धारणा बसाइ दिएको कारणले हो ।

जस्तैः इस्लामको बारेमा गलत व्याख्या गरियो कि इस्लाम धर्म मान्नेहरु यति कट्टर हुन्छन् कि काफिर भनेर कसैलाई पनि मारिदिन्छन् । अनि यो पनि भनियो कि यसरी कसैलाई मार्नुलाई उनीहरु जिहाद भन्दछन् । साथै यो भ्रम पनि सृजना गरियो कि इस्लाम धर्म मान्ने केटाहरुले लभजिहादको नाममा गैरमुस्लिम केटीहरुलाई फकाइ विहे गर्छन् । यिनै भ्रमलाई हटाउनका लागि इस्लाममा कट्टरवाद, काफिर, जिहाद र लभजिहाद जस्ता शब्द छन् वा छैनन् यो बुझ्न आवश्यक छ । साथै यी मध्येका शब्दहरुमा कुनै शब्द इस्लाममा छ भने त्यसको वास्तविक अर्थ के हो बुझ्न जरूरी छ ।

सबभन्दा पहिला ‘कट्टरवाद’ आज संसारमा यो शब्दलाई इस्लामसँगै जोडेर बढी चर्चा भइरहेको छ । जताततै इस्लामलाई एकाध अतिवादी सोच भएका व्यक्तिहरुले बदनाम गर्ने प्रयास गरिरहेछन् । जब कि इस्लाम शान्तिको धर्म हो । इस्लाम मानवताको धर्म हो । इस्लामको धर्मग्रन्थ कुरानमा प्रष्ट लेखिएको ‘ला इक्रा फिद्दीन’ अर्थात् धर्ममा कुनै जोरजबरदस्ती छैन ।

कसैलाई बलपूर्वक धर्मान्तरण गराउन निषेध गरिएको छ । कुरानपाकको अर्को सुरहमा लेखिएको छ ‘लकुम दीनकुम वल यदीन’ अर्थात् ‘तिम्रो लागि तिम्रो धर्म र मेरो लागि मेरो धर्म’ । यसर्थ सबैलाई आआफ्नो धर्म मान्न स्वतन्त्रता छ । कुरानपाक र हदीश शरीफलाई नजिकबाट अध्ययन गर्ने हो भने इस्लामको कट्टरतासँग कुनै सरोकार नै छैन । तथापि आज इस्लाम धर्म मान्ने मुस्लिमहरुलाई घृणाको दृष्टिले हेरिन्छ ।

त्यसकारण यहाँ कट्टरवाद र इस्लामलाई केलाएर सुक्ष्म अध्ययन गर्नु अति नै आवश्यक छ । हामी आज इस्लाम बारे सूक्ष्म अध्ययन गरी इस्लामको वास्तविकता र यथार्थतालाई समाज सामु साझा गर्नेछौं । जसले गर्दा इस्लाम र मुसलमान बारे सही जानकारीका साथ भ्रम हटोस् र समाजमा सद्भाव कायम होस् ।

हामीले कट्टर, कट्टरता वा कट्टरवादी भन्नाले के हो यो बुझ्न जरुरी छ । कट्टरताको परिभाषा यदि हेर्ने हो भने आफ्नो नीजि स्वार्थका कुनै व्यक्ति, समूह वा संगठनले कसैलाई डराउने धम्काउने वा नोक्सान पुर्याउने जस्ता कार्य हो । कट्टरवाद भन्दा कसैलाई डराइ धम्काइ वा नोक्सान पुर्याइ आफ्नो नीजि स्वार्थ पुरा गर्नु हो, कट्टरवादी भनेका कसैलाई डराउने धम्काउने वा नोक्सान पुर्याउने व्यक्ति समूह वा संगठन हो भनेर बुझाउने गरिन्छ ।

अब आफ्नो स्वार्थका लागि कसैलाई डराउने, धम्काउने वा नोक्सान पुर्याउने व्यक्ति वा संगठन त जुनै पनि धर्म समुदायभित्र हुन सक्छन् भनि प्रष्ट भयो । किनभने इस्लाम त असहायलाई सहयोग, शान्ति, सद्भाव र स्वतन्त्रतापूर्वक आ आफ्नो धर्मको पालना गर्न पाउने अधिकारको कुरा गर्छ ।

अब ‘काफिर’को कुरा गरौं भने आमतवरले काफिर भनेर हिन्दु, इसाई र यहुदीहरुलाई भनिएको भनी गलत बुझाइ प्रचार गरियो । जुन शतप्रतिशत सत्य होइन, जसले इस्लामलाई मान्दैन् अर्थात् जो मुस्लिम होइन उसलाई इस्लामी परिभाषामा गैरमुस्लिम भनिन्छ काफिर भनिँदैन । इस्लामले काफिरका लागि केही सीमाहरु तोकेको छ । यदि कुनै व्यक्ति ती सीमाहरु मिच्छ अर्थात् शरीयतले तय गरेका सिद्धान्त अवहेलना गर्छ भने मात्र ऊ काफिर हुन्छ ।

जस्तैः शरीयते इस्लाममा मौला अली शेरेखुदा यस्ता व्यक्तित्व हुन् । जसलाई घृणा र ईष्र्या हराम हो । जसको घृणा र ईष्र्या कुफ्र हो । यसैगरी पैगम्बर मुहम्मदका नाति अहलेबैतलाई शहीद गर्ने गराउने जति काफिर हुन् चाहे सहाबा (पैगम्बरे इस्लाम हजरत मोहम्मद सल्लका निकटतम साथी) अर्थात् मुसलमानको घरमा छोरा भइ जन्मेको यजीद काफिर हो ।

जसले इमाम हुसैन अलैहिस्सलामलाई उनका आफन्त सहित शहीद गर्यो । काफिरको परिभाषा यसरी पनि बुझ्न सकिन्छ एक पटक मौला अली शेरे खुदाले फरमाउनुभयो ‘म यो हजरेअस्वदलाई यस कारण चुम्दछु किनकि कयामतको दिन यो हजरेअस्वद पत्थरले गवाही दिन्छ कि फालानो व्यक्ति मोमिन हो र फलानो व्यक्ति काफिर हो ।’ अर्थात् यो भनाइ अनुसार जसले इस्लाम धर्म मान्दछु भन्छ नमाज पढ्छ, रोजा बस्छ, हज गर्छ र त्यहाँ जाँदा हजरेअस्वदलाई पनि चुम्दछ तर इस्लामी शरीयतका अहकाम र नियमलाई तोड्छ वा अस्वीकार गर्छ वा मान्दैन भने वास्तवमा त्यो काफिर हो । काफिर भनेर जुन अफवाह फैलाइएको छ त्यो भ्रम मात्र हो ।

‘जिहाद’ शब्दको शाब्दिक अर्थ संघर्ष एवम् प्रयास गर्नु हो । इस्लाममा जिहादलाई मुख्यतः दुई भागमा विभाजित गरिएको छ । जिहादे अकबर र जिहादे असगर । जिहादे अकबर अर्थात् आफ्नो दोष एवम् आफू भित्रको दुष्टता नकारात्मक सोचसँग बच्नका लागि प्रयास एवम् संघर्ष गर्नु हो । जिहादे असगर अर्थात् समाज भित्र रहेको दोष खराबी एवम् दुष्टतासँग संघर्ष गर्नु हो ।

अब कुरा गरौं ‘लभजिहाद’ को जुनकि अंग्रेजी र उर्दु गरी दुईवटा शब्दबाट मिलेर बनेको छ । अंग्रेजीको शब्द लभ जसको अर्थ हुन्छ प्रेम अनि उर्दुको शब्द जिहाद जसको अर्थ हुन्छ संघर्ष र प्रयास गर्नु । दुबै शब्दलाई जोडेर बुझ्ने हो भने लभजिहाद अर्थात् प्रेमका लागि संघर्ष । जिहादको वास्तविक शाब्दिक अर्थ हामी माथि नै पढिसकेका छौं । जिहादको दुबै किसिम जिहादे अकबर र जिहादे असगर बारे पनि माथि पढेकै छौं ।

जिहादे अकबर अर्थात् ठूलो संघर्ष त आफ्नो भित्रको दुष्टतासँग जुध्नु र प्रयास गर्नु हो भने जिहादे असगर समाजभित्र रहेका नकारात्मक कुरासँग जुझ्नु र प्रयास गर्नु हो । लभ अर्थात् प्रेम आफैमा यति राम्रो कुरा हो । यदि कसैले समाजमा प्रेम फैलाउनका लागि प्रयास गर्नु, संघर्ष गर्छ भने त्यो राम्रो काम हो । मानव भएर जन्मिसकेपछि समाजमा प्रेम र सद्भाव फैलाउनु हाम्रो दायित्व पनि हो । यसै गरी संसारमा कति यस्ता व्यक्तिहरुलाई सम्झिन्छ ।

जसले आफ्ना प्रेमलाई अमर बनाउन समाजसँग संघर्ष र प्रयास गरे जस्तैः लैला–मजन, शीरी–फरहाद, सोनी–महिवाल र मुना–मदन आदि । यिनले आआफ्ना प्रेमी प्रेमिकाको प्रेमका लागि संघर्ष गरे । यसैगरी अन्यमा क्षेत्रका व्यक्तिहरुले आफ्नो दक्षता र क्षमताको प्रयोग गरी संसारमा प्रेम बाँड्ने अथक प्रयास गरेकाछन् ।

जसमध्ये साहित्यकारहरुले साहित्यबाट समाजमा प्रेम फैलाउने प्रयास गरे । कलाकारहरुले आफ्नो कलाका माध्यमबाट प्रेम र सद्भाव फैलाउने प्रयास गरे । लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य, सिद्धिचरण श्रेष्ठ, विष्णुकुमारी बाइबा ‘पारिजात’, मदरटेरेसा, माइकल ज्याक्सन, मोहम्मद रफी, लता मंगेशकर, आशा भोषले आदिले पनि आफ्नो क्षमता दक्षता र कलाबाट समाजलाई जोड्ने काम गरे ।

यद्यपि कसैले प्रेममा धोका दिन्छ वा षडयन्त्र पूर्वक प्रेमजालमा कसैलाई फसाउँछ भने त्यो व्यक्ति गलत हो, प्रेममा धोका वा षडयन्त्र पूर्वक गरिएको प्रेमलाई शाब्दिक रुपमा परिभाषित गर्ने हो भने । यदि कसैले प्रेममा धोका दियो भने त अंग्रेजीमा भन्दा ‘लभ एण्ड फ्राड’ वा ‘फ्राड इन लभ’ जस्तो कुनै शब्द हुनसक्ला । प्रेममा धोका दियो भने उर्दुमा ‘मुहब्बत में बेवफाई’ वा ‘मुहब्बत में धोकेबाजी’ जस्तो कुनै शब्द हुनसक्ला । यसै गरी अंग्रेजी र उर्दु मिलाएरै लेख्यो भने ‘बेवफा–लभु वा ‘धोकेवाला लभ’ जस्तो शब्द हुन आउला ।

लभजिहाद जस्तो कुनै शब्द इस्लामिक लोगत (शब्दकोष)मा भेटिँदैन । किनकि यहाँ त भाषा नै फरक छ । लभ अंग्रेजी शब्द हो र जिहाद उर्दु । यसका साथै इस्लाममा विवाह तब मात्र वैधानिक हुन्छ जब केटा र केटी दुबै बालिग हुनुका साथै मुसलमान हुन्छन् । एक मुस्लिम अर्को गैरमुस्लिम भए निवाह हुनै सक्दैन । विवाह गर्ने केटाकेटी दुबै बालिग भएपछि जबरजस्ती र धोकधडीका साथ विवाह गर्ने ठाँउ नै हुँदैन ।

अर्को कुरा विवाह हुने बेलामा कम्तीमा तीन जना बालिग पुरुषका साथै केही महिला साक्षी हुन पनि अनिवार्य छ । यसकारण लुकाएर विवाह गर्न पाइँदैन । शरीयत अनुसार साक्षी नहुने विवाह मान्य हुँदैन । जब मान्य हुँदैन भने त्यो त विवाह हुँदैन भएन । यदि इस्लामका यी सारा महत्वपूर्ण विषयमा अध्ययन गर्ने हो भने लभजिहाद जस्तो कुनै कन्सेप्ट नै छैन इस्लाममा । यदि कसैले कसैलाई प्रेममा धोका दिन्छ वा धोकापूर्वक विवाह गर्छ, चाहे ऊ कुनै पनि धर्म समुदायको किन नहोस् । त्यसो गर्नु पाप हो, अपराध हो जसको जिम्मेवार त्यो व्यक्ति स्वयम् हुने हो ।