काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका निलम्बित सहसचिव चुडामणि शर्मा सजाय निर्धारण नहुँदै सर्वोच्च अदालत पुगेका छन् । शर्माले आफूलाई विशेष अदालतले दोषी ठहर गर्ने क्रममा प्राकृतिक न्यायको सिद्धान्त अनुसार जिरह गर्न नदिइ फैसला गरेको भन्दै सो विरुद्ध रिट लिएर गएका हुन्
विशेष अदालतकाे फैसलाको पूर्ण पाठ नआउँदासम्म सो बारे चित्त नबुझे सर्वोच्च अदालत पुनरावेदन जान पाइन्छ । तर, शर्मा फैसला चित्त नबुझेर होइन दोषी ठहर गर्दा न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्याएको दाबी गर्दै सर्वोच्च पुगेका हुन् । ‘चुडामणि शर्माको रिट निवेदन यहाँ पेश भएको छ’ सर्वोच्च स्रोतले भन्यो, ‘अध्ययनकै क्रममा छ, दर्ता गर्ने वा दरपीठ हुने केही टुंगिएको छैन ।’ शर्माले मुद्दाको सुनुवाइ सकेपछि एकपक्षीय रुपमा विशेषज्ञको राय लिएर विशेष अदालतले आफूलाई दोषी ठहर गरेको जिकिर गरेका छन् । यद्यपी सर्वोच्च अदालतमा रिट भने दर्ता भइसकेको छैन । शर्माका कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगेका हुन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले गत १८ जेठमा कर फर्छयौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्माले ६ अर्ब १५ करोड भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनीहरुको सजाय निर्धारण भने ५ असारमा हुँदैछ । सजाय निर्धारण नभएकाले यो मुद्दाको फैसलाको पूर्णपाठसमेत तयार भएको छैन ।