संघीय संसदमा वर्षेनी रसायनिक मलको आपूर्ति हुन नसकेको विषय उठने र सरकारले सँधै झै पूरा नहुने वाचा गर्ने प्रवृत्ति दोहोरिदै जान्छ । खाद्यन्नको मूल्य अकासिएको कारण संसारभरका मध्यम र निम्न वर्गीय उपभोक्ताहरूले दैनिक जीवनयापनको गम्भीर चुनौती बेहोरिरहेको यथार्थ हाम्रोसामु छ ।
जलवायु परिवर्तनले ल्याएको अनपेक्षित परिणामले डिजिटल युगमा मानवका लागि सबैभन्दा ठुलो चुनौति खाद्यन्नको अभाव, भोकमरी र प्रतिकूल मौसम गम्भीर समस्या हुने स्पष्ट अनुमान पनि भैरहेको छ ।
खाद्य सुरक्षा :
खाद्य सुरक्षा अहिलेको समाज तथा राजनीतिक आर्थिक परिघटनामा सबैभन्दा बढी चासो र छलफल भएको शीर्षक हो । खाद्यन्न उपभोग मानव स्वास्थ्य, मानव कल्याण र मानवको ज्यूँदो जीवनयापनका लागि नभइनहुने तत्व हो ।
सबै समयमा शारीरिक एवं आर्थिकरूपमा उत्पादक र स्वस्थ जीवनको लागि पर्याप्त र पोषिलो खाद्यमाथि सहज पहुँच हुनुलाई खाद्य सुरक्षा भनिन्छ । एउटा परिवार खाद्य सुरक्षित छ भनेको सपरिवार भोकै बस्नु नपर्ने र भोकको सम्भावनाको भयबाट मुक्त हुने अवस्था हो ।
अर्थात खाद्य सुरक्षा भनेको निश्चित भूभागका निश्चित जनसंख्याका लागि आवश्यक क्यालोरी पुरा गर्ने खाद्यन्नको जोहो पर्याप्त हुनु हो । विश्व खाद्य सम्मेलन १९९६ ले मानिसको स्वस्थ र सक्रिय जीवनयापनका लागि सुरक्षित र पोषणयुक्त खाद्यन्नमा सहज पहुँच सुनिश्चित गरिएको अवस्थालाई खाद्य सुरक्षा भनी परिभाषा गरेको छ ।
खाद्यन्नको मात्राको प्रचुरता, खानका लागि खाद्यन्न माथिको सहज पहुँच र खाद्यको उचित उपयोग (पोषिलो खानेकुरा) को ज्ञान र अभ्यास तथा खाद्य प्राप्तिमा दिगोपना खाद्य सुरक्षाका चार महत्वपूर्ण तत्वहरू हुन् ।
मानिसको लागि दैनिक न्यूनतम २१०० क्यालोरीको आवश्यकता पर्दछ । सो क्यालोरी पाउनको लागि मानिसलाई खाद्यवस्तुको सहज उपलब्धता हुन पहिलो तत्व हो र त्यस्तो खाद्यवस्तु गुणस्तरीय पनि हुनुपर्दछ । खाद्यवस्तु उपलब्ध भए पनि त्यसमाथि व्यक्तिको शारिरीक एवं आर्थिकरूपले खानको लागि पहुँच पुग्नु दोस्रो तत्व हो ।
खाद्यवस्तुमा पहुँच भए पछि उपलब्ध खाद्यवस्तुको सही उपयोग अर्थात सन्तुलित खानाको रूपमा, गुणस्तरीय खाना खाने तथा स्वास्थ्यवद्र्धक खाना खानु तेस्रो तत्व हो । खाद्य सुरक्षाको चौथो तत्व उपलब्ध खाद्यवस्तुको दिगो उपलब्धता सुनिश्चित हुनु हो ।
खाद्य सुरक्षा र खाद्य संकटबीच चक्रिय सम्बन्ध देखिन्छ, किनकी एउटाको व्यवस्थापन कमजोर हुनासाथ अर्को सिर्जना हुने गर्दछ । अर्थात खाद्य असुरक्षाले खाद्य संकट निम्त्याउँछ भने खाद्य संकटले खाद्य असुरक्षालाई बढाउँछ ।
नेपालमा खाद्य सुरक्षाको अवस्था :
पन्ध्रौ पञ्चवर्षीय योजनाले कुल राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको र झण्डै ६० प्रतिशत जनसंख्या कृषि रोजगारमा संलग्न भएको प्रष्ट गरेकोछ । नेपालको कृषि विकास रणनीति (२०१५–२०३५) ले नेपालमा १३ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको अवस्थामा रहेको पुष्टि गर्दछ भने सतहत्तर जिल्ला मध्ये ४२ जिल्लाहरूमा खाद्य असुरक्षाको अवस्था रहेको पनि दर्शाउँछ ।
सुदूर र मध्य पहाडि क्षेत्रमा भोकमरीको समस्या उच्च छ भने तराईमा खाद्य बचत भए पनि कुपोषणको समस्या उच्च देखिन्छ । नेपालको डेमोग्राफि तथा स्वास्थ्य सर्भेक्षण, २०१६ ले ४८ प्रतिशत जनसंख्या बर्षभरी नै खाद्यन्न पुग्ने गरी सुरक्षित रहेकाछन् र बाँकी २० प्रतिशत हल्का, २२ प्रतिशत मध्यम र १० प्रतिशत जनसंख्या खाद्यन्न गम्भीर असुरक्षाको अवस्थामा रहेको देखाएकोछ ।
रणनीतिले र गरिब तथा अविकसित क्षेत्रमा बसोवास गर्ने परिवारका बच्चाहरूमा पुड्को र कम तौलको हुने दर उच्च रहेको सत्य पनि उजागर गरेकोछ ।
सहरको जनसंख्याको तुलनामा गाउँको जनसंख्या गरिब समुदाय र अविकसित क्षेत्रमा वसोवास गर्ने जनसंख्यामा सामान्यतया खाद्यान्न उत्पादन हुने समयभन्दा अगाडिदेखि नै भोकमरीको समस्याले विकराल रूप लिने गरेको अनुभव हामीसँग छ ।
राष्ट्रिय योजना आयोगबाट प्रकाशित “फुड सेक्युरिटी एटलस अफ नेपाल, २०१९” ले नेपालमा २४ प्रतिशत मात्र खेती योग्य भूमि रहेको देखाउँछ भने प्रति हेक्टर धान २.९ टन, मकैै २ टन र गहुँ २.०५ टन मात्र फल्ने दृश्य पनि देखाएकोछ ।
खाद्यन्न उत्पादन र उत्पादकत्वले नेपालको लागि सन २०१९ मा मात्रै आठ लाख टन धान अपुग भएको थियो । एटलसले खाद्यन्न आवश्यकता पुरा गर्न आयात गर्नु पर्ने अवस्थामा देश पुगेको र देशको पुरै जनसंख्यालाई खाद्य सुरक्षा सुनिश्चित गर्न कठिन भएको दृश्य पनि देखाएकोछ ।
तर हाम्रो देशमा खेतीपाती दुई सिजनमा गर्ने र बर्षभरी नै जमिनबाट केही न केही उत्पादन भै राख्ने भएको र बर्षभरी खान पुग्ने घर परिवारको संख्या स्थीर रहेको कारण चिन्तित भै हाल्नु पर्ने अवस्था भने नरहेको तथ्य एटलसले प्रष्ट गरेकोछ ।