• जेष्ठ २७ २०८२, सोमबार

सामन्तकालिन राज्य दमनकारी थियो, आजको राज्य लुटकारी भयो : सांसद प्रभु साह

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । सांसद प्रभु साहले सामन्तकालमा दमनकारी चरित्र बोकेको राज्य अहिले लुटकारी बन्न पुगेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले करका दर बढाएर आलुप्याजसम्म पुर्याइएको भन्दै कटाक्ष गरेका हुन् ।

‘तपाईं करको दर बढाएको बढायै गरिराख्नु भएको छ । कहाँसम्म पुर्याउनु भएको छ भने किसानहरूको ढाड भाँच्ने गरी पुर्याउनु भएको छ । यस्ता कुराहरूले कसरी समृद्धि आउँछ ? सरकारले आशा जगाउनु पर्ने हो, लोकतन्त्रमा त राज्यको चरित्र सेवाकारी, सहयोगी हुनुपर्ने हो, तर चुस्ने, लुट्ने चरित्र देखा पर्छ । एउटा कृषक घाटामा पर्छ, त्यहाँ उभिनुहुन्न, जब नाफा गर्छ अनि कर लगाइदिनु्हुन्छ। कुखुरा फार्म टाट पल्टिएको बेला राज्य हुँदैन तर, उसले नाफा गर्छ त्यसमा कर लगाइदिनुहुन्छ । गाइ फार्म जब रोग, प्रकोपले घाटामा पर्छ त्यतिबेला तपाईंको उपस्थिति हुँदैन, तर जब ऊ नाफामा हुन्छ तपाईंको उपस्थिति हुन्छ । यो चरित्रलाई के भन्छ ? सहयोगी चरित्र भन्छ?,’ उनले भने ।

राज्य लुटकारी बनेको र जति सकिन्छ लुट भन्ने चिन्तन हाबी भएको उनको आरोप थियो। यस्तो सोचले कहाँ पुग्ने भन्ने प्रश्न उब्जाएको उनको भनाइ थियो ।