• जेष्ठ २७ २०८२, सोमबार

पूर्वमाओवादी पृष्ठभूमिका पार्टीहरू ध्रुवीकृत हुँदै, माधव-उपेन्द्र नेतृत्वको पार्टीसहित समाजवादी मोर्चाको तयारी

जेष्ठ २७ २०८०, शनिबार

काठमाडौं । १० वर्षे सशस्त्र संघर्ष अन्त्य पश्चात् शान्ति प्रक्रियामा आएसँगै पूर्वमाओवादी विभाजनको सिकार भएको छ । एउटै पार्टी झन्डै आधा दर्जनभन्दा बढी पार्टीमा विभाजित छ ।

विभाजित यिनै पार्टीहरूबीच अहिले ध्रुवीकरणको प्रयास भईरहेको छ । यसका लागि वर्तमान प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) यसको प्रयासमा रहेको पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनका अनुसार, ‘तत्कालीन माओवादी पृष्ठभूमिका पार्टीहरू पुनः एकै ठाउँमा उभिनुपर्ने छ । यतिबेला माओवादीमाथि चौतर्फी घेराबन्दी भईरहेको बेला हामी एकै ठाउँमा नउभिए विसर्जनको बाटोमा फस्ने निश्चित छ । यसका लागि हामी पहिलेका आग्रह–पूर्वाग्रह र रिसराग त्यागेर एकै ठाउँमा आउनुपर्छ । हामी एकै ठाउँमा उभिए हामीले तय गरेको यात्रा सामाजवादको गन्तव्यमा अवश्य पुगिनेछ ।’

‘माओवादीमाथिको देशी तथा विदेशी हमलाको प्रत्यक्ष वा परोक्ष सामाना गर्नु परेको छ । उनीहरूको हस्तक्षेपले पार्टीलाई नै खलल पुर्याएको छ । यद्यपि हामीहरू हस्तक्षेपबाट विचलन भए हाम्रो अस्थित्व नै धरासायी हुनेछ । यसका लागि माओवादीहरू एकीकृत हुनुको विकल्प छैन,’ भन्छन्– नेता मातृकाप्रसाद यादव ।

यादव भन्छन्, ‘यतिबेला हामी तत्काल पार्टी एकताको प्रयासमा छौँ । त्यसका लागि प्रक्रिया पूरा भएको छैन । हामीबीचका केही बाधा, अड्चन फुकाउको कोसिस जारी छ । तथापि पूर्वमाओवादी घटकहरू एकता अगावै माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा बनाउने तयारीमा छौँ ।’

पूर्वमाओवादी पृष्ठभूमिका पार्टीहरू ध्रुवीकृत हुँदै

पूर्वमाओवादी पार्टी झन्डै आधा दर्जन बढी पार्टीमा विभाजित छ । यी सबैलाई एकै ठाउँमा ल्याउन पार्टी संस्थापन माओवादी केन्द्र लागि परेको छ । उसले विगत लामो समयदेखि पूर्वमाओवादी पृष्ठभूमिका दलहरूलाई एकै ठाउँमा उभ्याउने कोसिस नगरेको होइन ।

तर, उसले आजसम्म सकिरहेको छैन । विभाजित केही दलहरूले माओवादी केन्द्रसँग एकता गरिसकेका छन् । अझैँ ७ वटा दल भने बाहिर नै छन् । उनीहरूलाई माओवादी केन्द्रमै ल्याउने उसले हरहमेशा कोसिस गरिरहेको छ ।

यतिबेला विप्लव नेतृत्वको नेकपालाई माओवादी केन्द्रमै समाहित गर्न माओवादी केन्द्र नै अगाडि सरेको छ । यस विषयमा विप्लव पनि सकारात्मक देखिएको स्रोत बताउँछ । स्रोतका अनुसार, ‘विप्लवसँग एकता प्रक्रियाका लागि वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा नै अगाडि सरेका छन् । महराले विप्लवलाई निवासमै बोलाएर बारम्बार एकताको प्रस्ताव अगाडि सारेका छन् । एकताका लागि विप्लव पनि तयार रहेका छन् । तर, यसका लागि छलफल भने जारी छ ।’

त्यस्तै पूर्वमाओवादी घटक नेकपा (माओवादी क्रान्तिकारी)सँग पनि एकताका लागि संवाद अगाडि नबढाइएको होइन । तर, उसले एकताका लागि उत्सुकता नदेखाएपछि संवाद थप अघि बढ्न सकेन ।

पाँच दलीय समाजवादी मोर्चा बनाउने अन्तिम तयारी

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच तत्काल समाजवादी मोर्चा बन्ने भएको छ ।

यसका लागि यी दलका शीर्ष नेतृत्व सघन संवादमा छन् । यसका लागि हिजो (शुक्रबार) बेलुकी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपाका महासचिव विप्लवसहितका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

छलफलमा सकभर आगामी असार महिनाभित्रै समाजवादी मोर्चा बनाउने छलफल भएको छलफलमा सहभागी एक नेताले बताए । उनले भने, ‘समाजवादी मोर्चाका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कमरेडले जिम्मा लिनुभएको छ । उहाँले छलफलमा सकभर असार महिनाभित्रै मोचाबन्दी गर्ने तयारीमा लाग्नुभएको छ । यस विषयमा माओवादी केन्द्रका साथीहरू पनि आन्तरिक भेटवार्ता र छलफलमा हुनुहुन्छ ।’

समाजवादी मोर्चा बनाउने सन्दर्भमा यी पाँचै दल गम्भीर बनेका छन् । दलका शीर्ष नेताहरू मोर्चाबन्दी पश्चात् कसरी अघि बढ्ने भन्ने सन्दर्भमा लागि परेका छन् । मोर्चालाई सकभर असारभित्रै आकार दिने ध्याउन्नमा पाँचै दलका शीर्ष तथा दोस्रो वरियताका नेताहरू दत्तचित्त छन् । पाँच दलीय मोर्चाबन्दीको नेतृत्व माओवादी केन्द्रले गर्नेछ ।