घोराही, २७ जेठ ।
‘तपाईंले खिचेको फोटो कहिल्यै हराउँदैन’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले भन्नुभयो, ‘जति डिलिट गर्नुस् । प्रहरीले चाह्यो भने खोजेर ल्याउँछ । त्यसैले प्रविधि चलाउँदा ख्याल राख्नुस् ।’ हलभरीका किशोरकिशोरीहरु आपसमा मुखामुख गरे ।
‘मोबाइल स्विच अप गर्नुस्’ प्रशिक्षणको शुरुवातमा एसपी वलीले भन्नुभयो, कोलम्बिया दाङ एजुकेशन घोराहीका विद्यार्थीलेले मुख बिगारेर ‘स्विच… अफ’ भने । अनमै रमाउने उमेर भएको संकेत थियो । प्रहरी भने साइबर अपराधका बारेमा भर्खरै एसईई गरेका विद्यार्थीलाई जानकारी दिँदै थियो ।
‘स्वीच अफ भन्नुको अर्थ सार्वजनिक कार्यक्रममा मोबाइल ल्याउन नपाइने भन्ने होइन । अनुमति बिना कसैको फोटो खिच्न पाइँदैन । त्यसरी फोटो खिचियो भने कानूनी रुपमा दण्डनीय हुन्छ । साइबर अपराध मानिन्छ । यहि कुरा सम्झाउनलाई स्वीच अफ गर्नुस् भनेको एसपी वलीले प्रष्टिकरण दिनुभयो । विद्यार्थीहरु पुरा नजर एसपी वलीको अनुहारमा केन्द्रित गरेर सुन्न थाले ।
जब स्कूल वा इन्स्टिच्युटबाट विद्यार्थी सडकमा निस्कन्छन्, हुलबाँधी पुरा सडक जाम गरेर हुन्छन् । तपाईंले लगाएको कलेजको लोगो अनि सडकमा गरेको जाम त्यही हो अनुशासन ? देख्ने सभ्य मानिसले छाडा गोरु भन्छ । गोरु बुर्कुसीमार्दै जथाभावी सडकमा हिंड्छ । त्यसले ट्राफिक नियम जान्दैन । अब त्यसो गरेको भेटाएँ भने फात्तफित्त पारिदिन्छु । त्यसरी सवारीलाई अफ्ठेरो पारी हिंड्न पाउनुहुन्न । यसरी भनेपछि उपस्थित विद्यार्थी लजालु पाराले हाँस्दै मुखामुख गरेका थिए ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलवार साइबर सुरक्षा विशेष सचेतना मुलक कार्यक्रम थियो । कार्यक्रममा किशोरकिशोरी उमेरका सहभागी थिए । छात्राको संख्या बढि थियो, छात्र थोरै देखिन्थे । त्यस कार्यक्रममा प्रहरीले मायाप्रेमकै कारण धेरैले जिन्दगी गुमाएको कथा पनि सुनाइएको थियो ।
‘रुँदै कराउँदै विद्यालयका युनिफममै प्रहरीमा पुग्छन्’ एसपी वलीले भन्नुभयो, ‘किन यसो गरेको ? भनि सोध्दा लभ भन्या के हो गर्नेलाई थाहा हुन्छ । तपाईंलाई के थाहा ? भनेर उल्टो सोध्छन् ।’ उहाँले २० नपुगी विवाह नगर्न र जीन्दगी बर्बाद नपार्न सम्झाउनु भयो । धेरैले मलाई त्यही केटा वा केटी चाहिन्छ भनेर जीवन बर्बाद पारेको बताउनुभयोे ।
‘कुनैबेला चक्कुका कुरा हुन्थ्यो’ एसपी वलीलेले भन्नुभयो ‘अहिले माउसले सकिदिन्छ ।’ उहाँले जथाभावी लाइक कमेन्ट, शेर नगर्न सुझाव दिनुभयो । उहाँका अनुसार मोबाइलले फोटा खिच्यो भने कहिल्यै हराउँदैन । जति डिलिट गरेपनि निकाल्ने प्रविधि छ । अफलाईनमा बाँच्नै नसकिने युग आएको छ । यसरी इलेक्ट्रिक साधनको विकास भएका बेला जोखिम पनि उत्तिकै छन् । साइबर संसारमा ख्याल गर्न सकेन भने केहिबेरमा मानिसको करिअर ध्वस्त हुन्छ ।
जन्म मिति, राशीको नाम, मोबाइल, पर्स, निजी सम्पती, बैंक खाता लगायत निजी कुरा शेयर नगर्न प्रहरीले सिकायो । मुर्ख मानिसहरु खोजिरहेका हुन्छन् ,उनीहरु ज्यानै दिने कसम खान सक्छन् । अर्काको लागि ज्यान दिने मानिस कोही छैन । मोबाइलले जस्तै पनि आवाज बनाउन सक्छ । विश्वास गर्नुहुन्न ।
आफू तल पर्नेकाम गर्दै गर्नुहुन्न । ट्याप खानेको आयु छोटो हुन्छ । तिस बत्तिस वर्षभन्दा बढि बाँचेको रेकर्ड छैन । अपराधमा संलग्न भए पुलिस रिपोर्ट बन्दैन । पुलिस रिपोर्ट बनेन भने विदेश जान पनि पाइँदैन । नेपालमै जागिर पनि खान मिल्दैन । जिल्ला प्रहरी कार्यालयका असई सौजन डाँगीले हत्या, हिंसा, गालीगलौज गर्नेको सूचना दिनेलाई गोप्य राखिने बताउनु भयो । समाजमा त्यस्ता समस्या भए एक सयमा फोन गर्न सुझाव दिनुभयो ।
विद्यार्थीलाई सक्षम, दक्ष र जीवन सुरक्षित बनाउने विभिन्न कार्यक्रम गर्दै आएको एजुकेसनका प्रबन्धक प्रकाश लोहनीले बताउनुभयो । उहाँका अनुसार अनेक अतिरिक्त कार्यक्रम गरिने छ । एजुकेसनले जेष्ठ नागरिकको सेवा लगायत अन्य सामाजिक काम गर्दै आएको छ । उक्त कार्यक्रमको विद्यार्थीहरु राधिका वली र शुभम पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।