काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्रीले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।
पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आह्वान गरे ।
अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरूका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए । उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरूले चुप लागेर बस्न नमिल्ने बतए ।