• मंसिर ११ २०८१, मंगलवार

विसे नगर्चीको सम्झनामा बाटिका स्थापना गरी वृक्षारोपण गरियो

जेष्ठ २६ २०८०, शुक्रबार

काठमाडौं । काठमाडौंमा एक कार्यक्रमका बीच विसे नगर्ची बाटीका घोषणा एवं वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस एवं परियार सेवा समाजको २९औं स्थापना दिनका सन्दर्भमा सो समाज र वाग्मती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा काठमाडौं–३१ शान्तिनगरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथि समाजका संस्थापक अध्यक्ष पूर्वसांसद ऋषिबाबु परियारले स्थापनाको २९औं वार्षिकोत्सवका अवसरमा सबैलाई शुभकामना दिनु भयो ।

अर्का अतिथि हरि परियारले समाजले पुँजीपति परियारको हैन गरीब परियारको हितमा काम गर्नुपर्ने धारणा राख्नु भयो । समाजका सहसंयोजक फत्तेमान परियारले विगतका टुटफुटबाट पाठ सिक्दै नयाँ आधारमा नयाँ एकताको आवश्यकता रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा उपस्थित अतिथि, आयोजक र सहभागीहरुले वाग्मती किनारमा सरसफाई गरी वर, पिपल, रुद्राक्ष, स्वामी र विभिन्न फुलका बोटहरु रोप्नु भएको थियो । कार्यक्रमकाे समाजका संयोजक नारायण परियारले अध्यक्षता गर्नु भएको थियो भने संचालन महासचिव अन्जान परियारले गर्नु भएको थियो ।

परियारहरुलाई एकताको सुत्रमा बाध्न र समग्र विकासका लागि २०५२ सालमा स्थापना गरिएको परियार सेवा समाजको लामो इतिहास छ भने विभिन्न आरोह–अवरोहहरु पनि छन् । समाजले कहिले एकता, कहिले विभाजन तथा अनेकौं झमेला पनि व्यहोर्दै आएको छ । टुटफुटका छिटाहरु पनि यदाकदा देखिने गर्छन् ।

सो अवसरमा यी सबै विषयहरुलाई गम्भीरताका साथ नियाल्दै सबै संघ–संगठन समूह र परियारहरुलाई एकतावद्ध हुन आह्वान गरिएको छ । विसे नगर्ची पृथ्वीनारायण शाहले थालेको राज्य विस्तार अभियानका एक सहयोगी थिए ।

उनले प्रत्यक घरधुरीबाट एक–एक रुपैयाँ आर्थिक संकलन गर्नु सुझाव दिएका थिए । विशेष अवसरहरुमा दरबारमा नगर बजाउने भएको उनको खलकलाई नगर्ची भनिएको हो ।