• मंसिर ११ २०८१, मंगलवार

भेटेरिनरी अस्पताल ललितपुरले विद्यार्थी र जेष्ठ नागरिकलाई दुग्धजन्य पदार्थ वितरण गरी दुध दिवस मनायो

जेष्ठ २४ २०८०, बुधबार

लतिलपुर । भेटेरिनरी अस्पताल ललितपुरले यस वर्षको विश्व दूध दिवस २०८० ‘दूध क्षेत्रको विकास, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ मनाएको छ ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरद्वारा आर्थिक वर्ष २०७९र०८० को स्वीकृत कार्यक्रम अनुसार विश्व दूध दिवस, २०८० मनाउने कार्यक्रमका साथ पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रमलाई सप्ताहव्यापी रुपमा दूध तथा दूधजन्य पदार्थहरुको उपभोगमा जोड दिँदै मनाइरहेको छ ।

दैनिक गुणस्तरीय दूध पिउन जनचेतना वृद्धि गर्न, प्रचार प्रसार गर्ने, दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्ने, जनचेतना जगाउने र दुध तथा दुग्धजन्य पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्य एवम् विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जिविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूध उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले विश्व दूध दिवस सन २००१ देखि र नेपालले सन २०११ देखि मनाउँदै आएको छ ।

मिति २०८० साल जेठ २३ गतेका दिन काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको श्री श्रीराम आधारभूत विद्यालयमा दूध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख डा. रामप्रकाश प्रधानको अध्यक्षता एवम् बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का वडाअध्यक्ष श्रीराम केसीको प्रमुख आतिथ्य, विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य अच्यूत केसी, विशेष अतिथि विद्यालयका प्रधानाध्यापक जानुका दाहाल र अतिथिहरुमा पशु सेवा क्षेत्रका विज्ञहरु डा. धनराज रतला, डा. रेवतीमान श्रेष्ठ र डा. बोधनाथ अधिकारी एवम् बुढानिलकण्ठ नगरपालिका पशु सेवा शाखा प्रमुख पशु चिकित्सक काजीबहादुर श्रेष्ठ लगायतका विद्यालयका शिक्षक शिक्षिका सामाजसेवी समेतको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्यूत केसीलाई भेटेरिनरी अस्पतालका प्रमुख डा. रामप्रकाश प्रधानले घिउ २० केजी, दूध २०० लिटर, पनिर २० केजी, रसवरी २०० गोटा र लालमोहन २०० गोटा हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरी सो अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ स्थित रीमा सेवा समाजका सञ्चालक रीमा सापकोटा र बुढानिलकण्ठ नगरपालिका वडा नं ८ स्थित दिव्य निकेतनका सल्लाहकार आनन्द सिंहलाई घिउ २० केजी, दूध २०० लिटर, पनिर २० केजी, रसवरी २०० गोटा र लालमोहन २०० गोटा हस्तान्तरण गर्नु भएको थियो । उक्त विद्यालयका विद्यार्थीहरुको दिवा खाजा र जेष्ठ नागरिक तथा बालवालिका आश्रममा रहेका व्यक्तिहरु समेतको खाजामा समावेश हुने गरी हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका पशु विकास अधिकृत बासुदेव नाथले स्वागत मन्तव्य सहित दूध दिवस एवम् दूध तथा दुग्धजन्य पदार्थको उपभोग प्रवद्र्धन कार्यक्रम बारे र प्रमुख डा. रामप्रकाश प्रधानले दूधको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । बुढानिलकण्ड नगरपालिका वडा नं ४ का वडाअध्यक्ष श्रीराम केसी र रीमा सेवा समाजका सञ्चालक रीमा सापकोटले यसस्ता किसिमका कार्यक्रम आगामी दिनमा निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरु तथा जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकहरु निकै हर्षित तथा उत्साहित हुनुभएको थियो । श्रीराम आधारभूत विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी करिव २०० जनाको सहभागीता, रीमा सेवा समाजमा महिला २७ जना, पुरुष २३ जना र बालबालिका ५ जना र कर्मचारीसमेत गरी ६० जना र दिव्य निकेतन सेवामा जेष्ठ नागरिक महिला २५ जना र कर्मचारीहरु समेतको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्णबहादुर कार्कीले सञ्चालन गर्नु भएको थियो ।