भर्जिनियाँ । अमेरिकाको भर्जिनियास्थित रिचमण्ड शहरमा सात जनामाथि गोली प्रहार भएको छ । द न्यूयोर्क टाइम्सका अनुसार मंगलबार साँझ सवा ५ बजे अल्ट्रिया थियटरमा हाइस्कूलका विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो ।
गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिचमन्डका प्रहरी प्रमुख रिक एडवाड्र्सले अन्धाधुन्ध चलेको गोली लागेर सात जना घाइते भएका र तीमध्ये तीनको अवस्था गम्भीर रहेको बताएका छन् ।
उनका अनुसार गोली चलेको समयमा प्रहरीहरू दीक्षान्त समारोहस्थलमा थिए । गोली चलेको आवाज सुनिनासाथ घटनास्थल पुगेर दुई जनालाई नियन्त्रमा लिइएको उनले बताएका छन् । अन्धाधुन्ध गोली चलेपछि भागदौड हुँदा दर्जनौं घाइते भएका छन्। भाग्ने क्रममा एक व्यक्तिलाई कारले ठक्कर दिएको थियो ।
घाइतेहरूको प्राथमिक उपचारका लागि तत्कालै स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेका थिए । उनीहरूले घाइतेलाई सिपिआर दिइरहेका दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले गोलिकाण्ड दीक्षान्त समारोह लक्षित हो कि होइन भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको बताएको छ । रिचमण्ड पब्लिक स्कुलका प्रवक्ता म्याथ्यु स्टानलीका अनुसार ह्युगुएनोट हाइस्कुलका विद्यार्थीहरूको दीक्षान्त समारोहलगत्तै गोली चलेको थियो ।
स्कुलकै सदस्य जोनाथन योंगका अनुसार समारोहमा तीन सय जना दिक्षित भएका थिए । त्यतिबेला आफूले २० राउन्ड गोलीको आवाज सुनेको न्यूयोर्क टाइम्सलाई बताएका छन् । गोली चलेपछि अन्य कार्यक्रम स्थगित गरिएको थियो ।