• मंसिर १४ २०८१, शुक्रबार

यसपालिको बजेट समाजवाद उन्मुख छैन : उपेन्द्र यादव

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०र८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले बजेट संविधानले परिकल्पना गरेअनुरूपको समाजवादउन्मुख नभएको बताएका हुन् ।

‘बजेट समाजवादउन्मुख छँदै छैन । बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित रहेको छ । यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन,’ यादवले भने, ‘समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ ।’

उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको दाबी गरे । बजेटले लक्ष्यअनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने उनको भनाइ छ ।

‘आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ । तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ । यही तरिकाले अगाडि बढ्ने हो भने २०२६ सम्ममा विकासशिल मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन,’ उनले भने ।कुरा गरेर भ्रष्टाचार नियन्त्रण नहुने भन्दै यादवले त्यसका लागि योजना अघि नसारिएको टिप्पणी गरे ।

‘भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ ? कहीँ केही छैन त । कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन,’ यादवले भने, ‘भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ ? कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्सन प्लान अगाडि आउन आवश्यक छ ।’

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्ने गरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको उनको भनाइ छ ।