• जेष्ठ २७ २०८२, सोमबार

जलविद्युत आयोजनामा रुसले बम हानेको युक्रेनको आरोप, १६ हजार मानिस अन्यत्र सारिँदै

जेष्ठ २३ २०८०, मंगलवार

मस्को । युक्रेनले रुसले आफ्नो देशको दक्षिणी खेरसन प्रान्तस्थित निप्रो नदीमा रहेको प्रमुख जलविद्युत आयोजनाको बाँधमा बम प्रहार गरेको आरोप लगाएको छ ।

यो बाँध रुसको कब्जामा रहेको नोभा काखोभका सहरमा छ । बाँधमा भएको क्षतिका कारण कम्तीमा १६ हजारको ज्यान जोखिममा रहेको बताइएको छ । अधिकारीहरूले मानिसहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको बताएका छन् ।

यस घटनालाई औँल्याउँदै, खेरसनका क्षेत्रीय प्रमुख, अलेक्जेन्डर प्रोकुडिनले रसियाले अर्को आतङ्ककारी कार्य गरेको आरोप लगाए ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा उनले निप्रो नदीको पानीको स्तर पाँच घण्टाभित्रै ‘गम्भीर’ हुने चेतावनी दिएका छन् । उपलब्ध तस्बिरहरूमा तेज बहावसँगै पानी युद्ध क्षेत्रतर्फ बढिरहेको देख्न सकिन्छ ।

रुसले यो विनाशको लागि युक्रेन नै जिम्मेवार रहेको बताएको छ । यता रुसी अधिकारीले बमबारीले बाँध नभई प्लान्टको माथिल्लो हिस्सा मात्रै क्षतिग्रस्त भएको स्पष्टीकरण दिएका छन् ।