• जेष्ठ २८ २०८२, मंगलवार

रुसमाथि हमला गर्न गएका २५० युक्रेनी सेना मारिए, १६ वटा ट्यांक ध्वस्त

जेष्ठ २२ २०८०, सोमबार

मस्को । रुसले युक्रेनले डोनेट्स्क क्षेत्रमा थालेको जवाफी कारबाहीहरू असफल बनाइदिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार पछिल्लोपटक जब युक्रेनी सेनाहरू रुसविरुद्ध आक्रमण गर्न डोनेट्स्क क्षेत्रमा आए तब रुसी सेनाको गोलाबारीमा २५० जना युक्रेनी सेनाको मृत्यु समेत भएको छ ।

आफ्नो कारबाहीमा युक्रेनका १६ वटा ट्यांक पनि ध्वस्त बनेको रुसी दाबी छ । युक्रेनले रुसी दाबीको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनले रुसी सेनालाई आफ्नो भूमिबाट लखेट्न निर्णायक  जवाफी कारबाही थाल्ने केही समय अगाडि बताएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की हतियार सहयोग माग्न विभिन्न देशहरू भ्रमणका लागि पनि गएका थिए । उनलाई अमेरिका, जर्मनी, फ्रान्स र बेलायत जस्ता राष्ट्रले शक्तिशाली हतियारहरू दिने बाचा पनि गरेका थिए ।

युक्रेनले जवाफी कारबाहीबारे कुनै विषय खुलाएको छैन । तर, रुसले भने युक्रेनी जवाफी कारबाही उनीहरूलाई नै भारी परेको बताइरहेको अवस्था छ । आइतबार मात्र युक्रेनको रक्षा मन्त्रालयले एक भिडियो सार्वजनिक गर्दै रुसविरुद्धको जवाफी कारबाही बारे भनेको छ, ‘योजनाहरू मौनता मन पराउँछन् ।

जवाफी हमलाबारे कुनै घोषणा हुनेछैन ।’ अर्थात् युक्रेनले जवाफी कारबाही बारे कुनै जानकारी नदिने र जतिबेला पनि आक्रमण हुनसक्ने बताइरहेको छ । रुसले भने आक्रमण गर्न आउने युक्रेनी सेनालाई आक्रमण गरिरहेको भिडियो सार्वजनिक गरेको छ । रोयटर्स