• मंसिर १२ २०८१, बुधबार

के मेसी साउदीको कल्बबाट खेल्दैछन् ?

जेष्ठ २१ २०८०, आईतवार

एजेन्सी । क्लबलाई जानकारी नै नगराइ छुट्टी मनाउन साउदी अरब निस्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनल मेसीमाथि कठोर नीति नै लियो। करिब एक महिनाअघि बिना जानकारी मेसी साउदी पुगेपछि पीएसजीले उनलाई २ साता प्रतिबन्ध नै लगायो।

क्लबले कारबाही गरेको केही दिनपछि मेसीले आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि पीएसजीले कारबाही फिर्ता गरेको थियो। अकस्मात बिना जानकारी साउदीको भ्रमणमा निस्कनुलाई निकै संशयपूर्ण तरिकाले लिँलै उनको ट्रान्सफरसँग जोडेर हेरिएको थियो।

अहिले उक्त घटना सत्य साबित हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले दाबी गर्दै रिपोर्टहरु प्रकाशित गरेका छन्। मिरर न्युज पोर्टलले मेसी साउदीको क्लब अल हिलालमा अनुबन्धन हुने र केही दिनमै यसको घोषणा हुने दाबी गरेको छ।

क्लर्मन्टविरुद्ध अन्तिम खेल खेल्दै शनिबारबाट मेसी पीएसजीबाट औपचारिक रुपमै बिदा भएका छन्। पीएसजीबाट औपचारिक रुपमा मेसीको बिदाइ हुँदा यता साउदी क्लब अल हिलालले केही दिनमै मेसीलाई स्वागत गर्ने तयारी गरेको दाबी मिररको छ।

मेसीले पछिल्लो दुई सिजन फ्रान्सेली जायन्टस् लिग वान विजेता पीएसजीमा आबद्ध रहँदै २ लिग वान टाइटल जितेका छन्। तर पनि पेरिसमा मेसीको प्रशंसाभन्दा बढी विरोध हुने गरेको थियो।

फुटबल फ्यानहरुले मेसीको आलोचना गरिरहे। च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित कीर्तिमानी मूल्यमा पीएसजीले मेसीलाई अनुबन्धन गरेको थियो। तर च्याम्पियन्स लिगको ट्रफी उचाल्ने पीएसजीको सपना साकार हुन सकेन।

पीएसजीसँगको सम्झौता सकिएसँगै धेरै क्लबहरु अहिले मेसीलाई भित्र्याउन लागिपरेका छन्। जसमध्ये अल हिलाल अग्रस्थानमा छ। साउदी प्रो लिग पक्षले मध्यपूर्वमा आफ्नो करियर समाप्त गर्न कीर्तिमानी सम्झौताको प्रस्ताव गरेको छ।