• पुष २६ २०८१, शुक्रबार

कथित ‘अखण्ड भारत’ को भित्तेचित्रप्रति ६ किसान संगठनले जनाए कडा आपत्ति

जेष्ठ २० २०८०, शनिबार

काठमाडौं । नेपालका ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले भारतको नयाँ संसद भवनको भित्तामा विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थलहरू लुम्बिनी र कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’ नामको भित्ते चित्र अङ्कित गरेकोप्रति आपत्ति जनाएका छन् ।

भारत सरकारको यस कदमले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता तथा नेपालको स्वाभिमानमाथि अपूर्व आँच पुर्याएको बताउँदै उनीहरूले यसप्रति घोर आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी भारत सरकारलाई त्यो भित्ते चित्रबाट नेपालका गौरवमय स्थलहरू लुम्बिनी र कपिलवस्तुसहितको नेपाली भूमि तत्काल हटाई नेपालको सार्वभौमिक अखण्डता, स्वाधीनता र स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गर्दछौँ । यस विषयमा आफ्नो प्रष्ट दृष्टिकोण जनसमक्ष सार्वजनिक गर्न र देशको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्ने दृढता प्रदर्शन गर्नका लागि नेपाल सरकारसमक्ष समेत जोडदार आग्रह गर्दछौँ ।’

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।