‘अखण्ड भारत’को नक्साले दक्षिण एशियामा असहजता उत्पन्न गराएको छ । विश्वलाई सोच्ने बनाएको छ । यो आफैमा असान्दर्भिक र ‘प्रेत कल्पना’मा आधारित छ ।
विगतमा भएको भनिएको वा अरूको सापटी लिएर नक्सा, रूपरेखा, सिर्जना, धारणा वा विचार अभिव्यक्त गर्नुलाई ‘प्रेत’ वा ‘छाया’ अभिव्यक्तिका रूपमा लिइन्छ । यो यथार्थतामा आधारित भन्दा पनि कसैको भद्दा नक्कल वा फोटोकपी मात्र हुन्छ ।
हालै दिल्लीस्थित नयाँ संसद भवनमा भारत सरकारले सार्वजनिक गरेको ‘अखण्ड भारत’ को नक्सा यही छाया परिकल्पना मात्र हो । यो यथार्थ भन्दा पनि बढी साहित्यिक रहेको छ ।
यो नक्सा महाभारत महाकाव्यमा वर्णित रूपरेखा हो । त्यसैले यो साहित्यिक ‘नोस्टाजिया’ वा ‘मनको लड्डु घ्युसँग’ खाएको मात्र हो । यसले त्यस्ता सोच राख्ने र रमाइलो मान्नेहरूका लागि क्षणिक आनन्द दिन सक्छ ।
तर राज्यशक्तिको आडमा संसद भवनमा यसको प्रदर्शन र अभिव्यक्ति भने गम्भीर प्रकृतिको छ । यसले विगतको ‘रामराज्य’ वा विगतको ‘साम्राज्य’ जे सुकै देखाउला, त्यो विगत नै हो ।
हामी विगत खोज्दै जाने हो भने ढुंगेयुगसम्म पनि पुग्न सकौंला । तर के आधुनिक विश्वले ढुंगे युगको जीवन पद्धति र शासन स्वीकार गर्ला ? यो कसैका लागि रोमाञ्चक र प्रेरणादायी पनि हुन सक्ला । तर विश्व अब पश्चगमनको यात्रामा छैन ।
दुई दुईवटा भीमकाय नरसंहारकारी विश्वयुद्ध र सुषुप्त र प्रकट रूपमा चलिरहेका शीत युद्ध भोगिरहेको मानवजाति अब ‘अश्वमेध यज्ञ’ गरेर कुनै पनि ‘चक्रवर्ती राजा’ को स्वागत गर्न तयार छैन । समयले निकै फेरो मारिसकेको छ ।
विश्व जगत अब विश्व मानव हितको पक्षमा छ । राष्ट्रवाद र कथित राष्ट्रवादको घामछाया कतिसम्म छ, त्यसको चक्र त समयले ऐतिहासिक रूपमा पूरा गर्ला ! किनकि विश्व मानवताको पक्षमा गइरहेको छ ।
तथापि केही सोच र मानसिकताले यसमा काम गरिरहेको भने नकार्न सकिदैन । ती कुराप्रति सचेत भने रहनै पर्छ ।
पहिलो भारतीय प्रधानमन्त्री र उनको पार्टीको विचार, कार्यदिशा र कार्यक्रमिक सोच आउँछ । प्रम मोदीको विचार प्रजातन्त्र होइन, उनको विचार हिन्दुत्व हो । हिन्दु र हिन्दुत्वको रक्षा, प्रयोग र विस्तार उनको सोच हो ।
उनी स्यामुअल हन्टिङटनको ‘क्ल्यास अफ सिभिलाइजेशन’ बाट बढी तरङ्गित छन् । विश्वभर क्रिस्चियानिटीको विस्तार र भारत वा भारतीय उपमहाद्विपमा क्रिस्चियानिटीको अतिक्रमण रोक्ने अभियानमा छन् ।
धर्म युद्ध वा सभ्याताको युद्ध उनले देखेको टड्कारो समस्या हो । नयाँ संसद भवनमा सार्वजनिक गरिएको ‘अखण्ड भारत’ यसको ज्वलन्त उदाहरण हो । विश्वमा सभ्याताको युद्धतिर मात्र मानिसको ध्यान छैन । बरू ‘ब्याक टु नेचर’ तिर आकर्षण पनि बढ्दो छ ।
तथापि कार्ल माक्र्सले भने झैं धर्म अझै पनि मानिसका लागि ‘महाअफिम’ बनिरहेको छ । यसले तुरन्त मास हिस्टेरिया उत्पन्न गराउने र
साम्प्रदायिक दंगाफसंगा ल्याउने पनि गरिरहेको छ ।
विश्लेषकहरूले कहिलेकाँही भन्ने गरेको सुनिन्छ, सन् २०४५ सम्म दक्षिण एशियाको वर्तमान नक्सामा परिवर्तन आउँदैछ । यो भारतको वा
भारतमा रहेका हिन्दुको कारणले आउँछ कि क्रिस्चियानिटी विस्तारका कारणले आउँछ, स्पष्ट कोही पनि बोल्दैनन् । केवल आआफ्ना तर्क र वितर्क मात्र राख्छन् ।
तर्क त इस्लामिकका कारण वा बुद्धिष्टका कारण पनि हुन सक्ने गरिन्छ । तर छनक र झझल्को भने हिन्दुत्वको संरक्षण र बिस्तारमा लागेका प्रम मोदीले नयाँ संसद भवन अगाडि राखिएको ‘अखण्ड भारत’ को नक्साले दिएको छ ।
उनले यसो गर्नुका पछाडि कुन कुन शक्ति वा महाशक्तिको नेतृत्व गर्ने सभ्याताहरूले वातावरण सिर्जना गरिरहेका छन् र प्रम मोदी यो अभियानमा चाहेर वा बाध्यताबस लागिपरेका छन् आफैमा स्पष्ट हुन बाँकी छ । वा, मोदीको मनोगत आकाङ्क्षाले यसमा काम गरेको छ ?
तर पनि अखण्ड भारतको छाया नक्सा सार्वजनिकीकरणले दक्षिण एशियामा तरङ्ग भने ल्याएको छ । यसलाई यस क्षेत्रमा भारतको ‘विस्तारवादी नीति’ का रूपमा व्याख्या गरिएको छ । यसका बारेमा छिमेकी स्लामिक देश पाकिस्तानले कडा प्रतिक्रिया व्यक्त गरिसकेको छ ।
भनिन्छ, मानिसलाई विगतको भूतले निकै सताउँछ र तर्साउँछ पनि ! भारतीय संसद भवनमा यस्तै विगतको भूतका रूपमा ‘अखण्ड भारत’ को नक्सालाई राखिएको छ । यसको दैनिक र निरन्तर असर भनेको यसले अखण्ड भारतको परिकल्पना गर्ने र सोच राख्ने ‘क्रिम मानसिकता’ लाई अनावश्यक उत्तेजित बनाइरहन्छ ।
महाभारत साहित्य अनुसार पनि यो नक्सा वास्तवमा ‘अखण्ड भारत’को होइन, यो बरू तात्कालिन स्वायत्त भारतको हो । त्यतिबेला स्वायत्त राज्यहरू थिए । हालको एउटै झण्डा र शासन भएको भारत त यो स्वायत्त भारतमाथि अङ्गेज (गौराङ्ग) ले कब्जा गरेपछिको मात्र हो ।
प्रम मोदीले स्वायत्तताको सारलाई सर्लक्क झिकेर केवल स्वरूपमा नक्सा मात्र देखाएर यसको कार्यान्वयनको परिकल्पना गर्नु बुद्धिमानी सोच र तरिका होइन । तत्काल छिमेकी देशहरूका बीचमा आउने फाटो र दीर्घकालीन रूपमा सिर्जना हुने आन्तरिक वा घरेलु द्वन्द्वलाई यस ‘अखण्ड भारत’ को नक्साले गर्भमा बोकेर ल्याएको छ ।
यो नक्साले भारत र भारतीयहरूमा दीर्घकालीन रूपमा डरलाग्दो आन्तरिक अन्तरद्वन्द्वको विजारोपण गर्ने देखिन्छ । ढिलो होस् वा चाँडो यसले हरेक राज्यको स्वायत्तताको मागलाई सतहमा ल्याइदिने छ ।
यो नक्सा र सोच अङ्ग्रेजपछिको वर्तमान भारतमा हालसम्म कायम रहेको ‘होल्डिङ टुगेदर’ को नीति विपरीत छ । यो दिल्ली सरकारका लागि ‘घाँडो’ साबित हुने देखिन्छ ।