विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन् । मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ः५० बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको छ ।
बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको जानकारी परिवारले प्रहरीलाई दिएको छ । प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ । शरीरमा दन्किएको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभएको जानकारी डीएसपी दाहालले दिए ।
उनका अनुसार आगोले शरीरका अधिकांश भाग जलेको छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलबाट चिफ नामक किटनासक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने दुईवटा बोतल प्रहरीले फेला परेको छ ।
घटनास्थलमा भेटिएका बोतलबाट पेट्रोल चुहिरहेको थियो । घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनासक विषादी सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर खन्याउँदै शरीरमा ढकाल आफैले आगो लगाएजस्तो देखिने डीएसपी दाहालको भनाइ छ । ‘घटनास्थलमा विषादीको बट्टा भेटिएको छ । पेट्रोलको गन्ध आउने बोतल फेला परेका छन्,’ उनले भने, ‘घटना कसरी भयो भन्ने बारेमा यकिन भइसकेको छैन । तर, विषादी सेवनपछि पेट्रोल खन्याएर शरीरमा आफैले आगो लगाउँदै आत्महत्याको प्रयास गरेको हुनसक्छ ।’
घटनाको करण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको दाहालले बताए । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा विद्यालयको लेखा शाखा खुल्लै थियो । ढकालले प्रयोग गर्दै आएको प्रदेश १-०२-०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालय नजिकै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालयको लेखा परीक्षण शनिबार राखिएको रहेछ । अन्नपूर्ण पोष्टमा कशिोर बुढाथोकीले समाचार लेखेका छन् ।