• मंसिर ११ २०८१, मंगलवार

आफ्नै विशिष्टतामा आफ्नै गोताखोर

जेष्ठ १८ २०८०, बिहीबार

विश्वमा निकै जटिल खोजी कार्य भनेको गोताखोरी कार्य हो । जमीनको खोज सापेक्षतामा केही सजिलो हुन्छ । आकाशको खोज अनन्त हुन्छ ।
तर पानी भित्रको खोज आफैमा जटिल र चुनौतीपूर्ण हुन्छ ।

विभिन्न देशहरूले झेल्ने भनेको गोताखोर विज्ञको अभाव नै हो । नेपाल पनि यो समस्याले लामो समयदेखि थिचिदै र मिचिदै आएको थियो ।

तर अहिले देशमा आफ्नै गोताखोर निस्किइसकेका छन् । यो सानो उपलब्धी होइन । यो उपलब्धि जनशक्तिका हिसाबले सशस्त्र प्रहरी बलमा देखा परेको छ । यो विज्ञता नेपाली विशिष्टताअनुसार हासिल गरिएको छ ।

निरन्तर प्रयास र लगाबको परिणामस्वरूप सीपयुक्त गोताखोर उत्पादन हुन थालेपछि जल उत्पन्न प्रकोपबाट सिर्जित समस्या समाधान हुने देखिएको छ ।

नेपालमा उत्पन्न हुने जलप्रकोप यहाँको वेगसँग बग्ने नदीको प्रवाह, चिसो पानी, बाढी तथा ठाडा नदीको प्रवाहयुक्त विशिष्टतामा गोताखोरी जरूरी थियो ।

नेपालका सप्तकोशी, सप्त गण्डकी र सप्त कर्णालीमा पनि जलप्रवाह निकै तेज छ । त्रिशुली लगायतका ठाडा नदीको त कुरा नै नगरौं । हामीले नेपाली जलप्रकोपको जोखिमलाई यहाँकै विशिष्टता अनुरूप व्यवस्थापन गर्न सक्नुपर्छ ।

हाल सशस्त्र प्रहरीका मात्र ७४ जना तालिम प्राप्त गोताखोर छन् । यी तालिमप्राप्त गोताखोरले नदीमा डुबेका मानिसको आकस्मिक खोजी र उद्दार गर्ने गर्दछन् ।