• मंसिर २ २०८१, आईतवार

भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

जेष्ठ १८ २०८०, बिहीबार

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।

नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको योङ्याले बताए ।

नेपालले चिवाभञ्ज्याङसम्म एक दशकअघि नै सडक पुर्याएको थियो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहाँसम्म सवारीसाधन पुग्न थालेका थिए । दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिसकेको छ । यहाँ राज्यको उपस्थिति छैन । नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् ।

“सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्नका लागि आउने भारतीय नागरिकले बाटो प्रयोग गर्न पाएका छैनन्”, याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने, “यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन् ।”

पाँचथर र ताप्लेजुङका सयौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको प्रवेश अनुमतिपत्र बोकेर मात्र आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ । “सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ”, वडाध्यक्ष खालिङले भने  । चिवाभञ्ज्याङको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल तैनाथ छ । नेपालतर्फ पनि तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।