• जेष्ठ ३१ २०८२, शुक्रबार

वामदेव जबजबाट पछि हटेपछि नेकपा (एस)सँग पार्टी एकता प्रक्रिया अघि बढ्यो, नेताहरूको संवाद जारी

जेष्ठ १३ २०८०, शनिबार

काठमाडौं । नेकपा (एमाले)बाट विभाजित एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया अघि बढाइएको छ ।

यसअघि गत बैशाखमा पार्टी एकताका लागि औपचारिक छलफल अघि बढाएसँगै एकता प्रक्रिया अघि बढेको हो ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानका नेताहरूबीच विगत ६ महिनायता निरन्तर छलफल जारी रहेको दुवै दलका नेताले बताएका छन् ।

उनीहरूले टुटफुट र विभाजनले पार्टी र नेताको भविष्य नै ओरालो लाग्ने बताउँदै एकता नै आजको आवश्यकता भएको बताएका हुन् ।

यहीँ विषयलाई मध्येनजरमा राख्दै तत्काल एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता गर्नुपर्ने धारणा दुवै पार्टीका नेताहरूले राख्दै आएका छन् ।

चैत अन्तिम साता अध्यक्ष नेपाल र संयोजक गौतमबीच पहिलो चरणमा औपचारिक संवाद भएको थियो ।

यी दुई दलका शीर्ष नेताद्वयको प्रत्यक्ष संवादले पार्टी एकता प्रक्रियालाई सहज बनाएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काठमाडौंमा आयोजिक एक कार्यक्रममा बताए ।

यद्यपि त्यसयता भने उनीहरूबीच भेटवार्ता भएको छैन । बरु पार्टीका नेताबीच आपसी छलफल भने हालसम्म निरन्तर जारी रहेको बताइएको छ ।

एमालेबाट विभाजन भएयता यी दुवै दलले उल्लेख्य प्रगति भने गर्न सकेका छैनन् ।

एकीकृत समाजवादी गठन भएयता निरन्तर सांगठानिक क्षयीकरण हुँदै आएको छ ।

केही जिल्लामा पार्टीका जिम्मेवार व्यक्तिले नै पार्टी परित्याग गरेका छन् भने केही पुरानै दल एमालेमा फर्किएका छन् ।

वामदेव गौतमको हकमा भने त्यस्तो देखिएको छैन । किनकि उनले देशका ७७ जिल्ला र ७ प्रदेशमा कुनै पनि संगठन विस्तार गरेका छैनन् ।

उनको पार्टीले संगठन विस्तार गर्नेभन्दा पनि वामराजनीतिक दलहरूलाई एकता गर्नु हो ।

एकता राष्ट्रिय अभियानको अर्को उद्देश्य एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्युँत्याउनु हो ।

गौतमले नेकपा व्युँताउन बारम्बार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल नगरेका होइनन् ।

तर, अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकता गर्न नचाहेपछि उनको एकता प्रक्रिया ओझेलमा परेको छ ।

एकीकृत समाजवादीको देशैभर सांगठानिक क्षयीकरण र एकता राष्ट्रिय अभियानको वाम एकता ओझेलमा परेसँगै यी दुई दल आपसमा दलगत एकताको संघारमा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

तथापि गौतमले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) आत्मसाथ गर्नुपर्ने बताउँदै आएका थिए ।

तर, नेपालले जबजको औचित्य समाप्त भईसकेको बताएका छन् । एमालेबाट विभाजन भएसँगै उनले यस्तो बताएका थिए ।

गौतमले भने जबज नत्याग्ने बताएका थिए । यहीँ जबजमा आएर एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकताको अड्को बनेको थियो ।

अन्ततः दुवै दलका नेताहरूको लामो छलफल पश्चात् गौतम जबजबाट पछि हटेका छन् । उनी पछि हटेसँगै एकीकृत समाजवादीसँग एकता प्रक्रिया पनि अघि बढेको छ ।

यसबारे दलका नेताबीच एकता प्रक्रिया अघि बढे पनि पार्टी एकता कहिले गर्ने भन्ने विषय अझैँ टुंगो नलागेको दुवै दलका नेताले बताए ।