काठमाडौं । काठमाडौंको मुटु माइतीघर हरेक दिन आफ्नो माग राखेर आन्दोलन गर्ने दैनिक जसो भेटिन्छन् । जहाँ हरेक दिन कुनै न कुनै आन्दोलनका गतिविधि हुने गर्छन् । आफ्नो अधिकार प्राप्तिको लडाइ होस् या न्याय प्राप्तिको लडाइ माइतीघरमा धर्ना बसे पछि पूरा हुने अपेक्षा धेरैले राख्छन् ।
राज्य सञ्चालन गर्ने सिंहदरबार र अन्यायमा परेकालाई न्याय दिने सर्वोच्च अदालत अगाडी उभिदाँ न्याय पाइने आशमा माइतीघर आउने धेरै हुन्छन् । राज्यलाई आफ्नो समस्या नसुनेपछि सबैको केन्द्रविन्दु बनेको माइतीघरबाट न्यायको आशमा आउनेमध्ये एकाधलाई छाडेर धेरैले न्याय पाएका पनि छन् । माइतीघरमा आउने धेरैले आफ्नो न्याय प्राप्तिको लडाइमा शान्तिपूर्ण आन्दोलन गर्ने गरेका भए पनि आइतबार भने पर्साबाट आएका अभियन्ताहरुको टोलीले भने माइतीघरमा नदीको सभ्यता बचाउन माग गर्दै धर्नामा बसे । पर्साको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानका साथ उनीहरु १० दिन पैदल हिँडेर काठमाडौंसम्म आइपुगेका हुन् । गाउँमै बस्दा सरकारले नसुनेपछि आफ्नो पीर व्यथा र न्यायको आवाज सुनाउने स्थल माइतीघर मण्डलामा उनीहरु आइपुगेका हुन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा संघर्ष गर्दै आएका सरोज रायले सिर्सिया नदीको फोहरका कारण त्यहाँका स्थानीयको उठीबास भएकाले बाध्य भएर काठमाडौं आउनु परेको बताए । स्थानीय स्तरमा भएको आन्दोलनले नटेरेपछि सरकारलाई दबाब दिन काठमाडौं आउन बाध्य भएको उनले बताए ।
१० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका उनीहरुले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन ध्यानाकर्षण गराएका हुन् ।
बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको सिर्सिया नदी पर्साको वीरगञ्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो ।
औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी सो खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।
सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटकपटक अनुगमनसमेत गरेको थियो ।
महानगरको टोलीले श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायर लगायतले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको फेला पारेको थियो ।
उनीहरू जेठ ४ गते पर्साबाट काठमाडौंतर्फ हिँडेका थिए । सिर्सिया खोलाको उत्पत्तिको स्रोत पथलैयास्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ ।