काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरमा भाँडभैलो मच्चिएको छ । पुरस्कार वितरणमा चित्त नबुझेका कारण सो संगठनमा आवद्ध पत्रकारहरुले राजीनामा दिन थालेपछि यस्तो अवस्था आएको हो ।
सोही क्रममा प्रेस सेन्टर ललितपुर शाखाका आठ जना पत्रकारले आज राजीनामा दिएका छन् । उत्कृष्ट जिल्ला कमिटीको रुपमा ललितपुर जिल्ला कमिटीलाई छनोट नगरेको विरोधमा सो शाखाका अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका हुन् ।
ललितपुर प्रेस सेन्टरका अध्यक्ष रामहरि कार्कीले पछिल्लो समय आफ्नो जिल्लाले देशभरकै जनपक्षीय पत्रकारलाई संगठित गर्ने र पार्टीलाई हरेक कार्यमा मजवुत बनाउन दृढताका साथ काम गरिरहेको दाबी गर्दै आएका थिए । तर, संगठनको केन्द्रीय नेतृत्वबाट जिल्लाको कार्य र प्रतिष्ठामा कमी ल्याई आत्मसम्मानमा ठेस पुर्याउने काम भएको भन्दै उनले हालको परिस्थितिलाई मूल्याङ्कन गरेर संगठनको साधारण सदस्यको जिम्मेवारीमा मात्र रहने गरी राजीनामा दिएको बताए ।
राजीनामा दिनेमा कार्कीसहित उपाध्यक्ष गोपाल आलेमगर, सचिव दिपक अर्याल, सहसचिव अनिल पन्त र नारायणलिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, प्रेस सेन्टर ललितपुर महानगरपालिकाका सचिव राजुप्रसाद नेपाल र प्रेस सेन्टर उपत्यका समितिका सदस्य राममणि घिमिरे रहेका छन् ।
उनीहरुले प्रेस सेन्टरको साधारण सदस्य रहने गरी आ-आफ्नो पदबाट राजीनामा दिइएको बताएका छन् । त्यस्तै, पुरस्कारमै चित्त नबुझेपछि प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष किरण कणर्ले पनि राजीनमा दिएका छन् ।
यद्यपि उनले प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निणर्यअनुसार निर्धारित समयमा मधेश प्रदेश समितिको साधारण सभा गर्न गराउन नसकेको र विगत केही महिनादेखि आफू घरायसी समस्यामा रहेकाले संगठनमा रहन नसक्ने भन्दै राजीनामा बुझाएका छन् ।