• जेष्ठ ३१ २०८२, शुक्रबार

नक्कली भुटानी शरणार्थी काण्ड अनुसन्धान नबिथोल्न खनालको चेतावनी

जेष्ठ १३ २०८०, शनिबार

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभरी आन्दोलन हुने चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए । उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान पनि आग्रह गरे । खनालले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए । खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए ।

‘नक्कली भुटानी शरणार्थीको प्रकरण जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ’ खनालले भने, ‘यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूणर् रूपले टुङ्गोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’

पूर्व प्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको समेत बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले घण्टी अराजकताको सङ्केत भएको बताए । ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ’ उनले भने, ‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका सङ्केतहरू हुन् ।’

आन्दोलनमा ठुलो भूमिका खेलेका पार्टीहरूले देशको विकासका लागि महत्वपूणर् भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको उनले जिकिर गरे ।