काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्दैछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबार बस्न नसकेको संघीय संसद् प्रतिनिधिसभाको बैठक शनिबारका लागि बोलाइएको छ।
बैठक अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।