• मंसिर १४ २०८१, शुक्रबार

गैरजिम्मेवार शिखर इन्स्योरेन्स : ‘किसानको चमेली बोल्दिने कोही छैन’

जेष्ठ ११ २०८०, बिहीबार

काठमाडौं । २० दिन पहिले नै पशु बीमाको जिम्मा पाएको शिखर इन्सोरेन्स नुवाकोटका शाखा प्रमुख सुरेन्द्र राईलाई फोन गरेर ‘सर मेरो घरमा पालिएको बाख्राको बीमा नवीकरण गर्नु पर्नेछ ।

नयाँ थपको पनि बीमा गराउनु छ, खोपको कार्ड पनि छ,’ भनेपछि उहाँले कर्मचारी भोलिपल्ट पठाउनु पनि भयो तर उहाँका कर्मचारीले बाख्राले कानमा लगाउने ट्याग नबोकेकोले बीमा नहुने बताए । ‘त्यसो भए पुरानोको नविकरण गरौं न त’ भन्दा रुट पर्दापछि छिर्छु अहिले हतार छ भनेर हिंड्नु भयो । १ हप्ता बित्यो तर उहाँ आउनु भएन । उहाँ किन आउनु भएन भनेर फोन गर्दा कुनै पनि मतलव गर्नु भएन । शिखर इन्सोरेन्सको १६२५८ ट्याग भएको माउ बाख्रा छेरुवा रोग लागेछ । पालिकाको पशु सेवा केन्द्रमा गइयो, केही औषधि मुलो पाइन्छ कि भनेर, तर त्यहाँ हाकिम साब भनिने पशुका डक्टर नै भेटिनु भएन । फोन गर्दा बाहिरतिर खोजेर मिलाएर खुवाउनु भन्नुभयो र फोन राख्दिनु भयो । भोलिपल्ट उक्त बिरामी बाख्रा मर्यो अब नवीकरण नभएको बाख्राको कसरी बीमा भुक्तानी दाबी गर्न जानु । यसमा दोषी को हो ? पटक पटक फोन गर्दा फोन नउठाउने । भेट्न जाँदा मान्छे नभेटिने । यसको अनुगमन निकाय कुन हो ? के पशु सेवा कार्यालयमा डक्टर नै नबसी कार्यालय सहयोगीले कार्यालय चलाउने हो ?’

यो त एउटा नुवाकोट जिल्लाको लिखु गाउँपालिका-४ चौघडा निवासी रामचन्द्र अगस्तीले भोग्नु भएको पीडाको प्रतिनिधि घटना मात्र हो । यो समस्या आहिले समग्र नुवाकोटको समस्या भइसकेको छ । शिखर इन्सोरेन्सको नुवाकोट शाखा र जिल्ला पशु सेवा कार्यालय यस्ता गैरजिम्मेवार घटनामा किन मौन छन् ? आज यस्ता प्रश्नहरु जताततै उठिरहेका छन् ।