• जेष्ठ ३२ २०८२, शनिबार

रेशम चौधरीलाई माफी दिन तयार पारिएको फाइल राष्ट्रपतिकोमा पुग्यो

जेष्ठ ११ २०८०, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

‘हो, उहाँको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट यहाँ आइपुगेको छ, अध्ययनपछि प्रक्रिया अघि बढ्छ’, राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले भने, ‘त्यसैबारे राष्ट्रपतिज्यूसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको टिम यहाँ आइपुगेको थियो ।’ यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति पौडेलका ती सल्लाहकारले भने ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्नसक्ने व्यवस्था छ ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालय स्रोतले रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमागि अध्ययन भइरहेको जानकारी दिएको छ । सम्भवतः शुक्रबार नै फाइल गृह मन्त्रालयमा फिर्ता गरेर प्रक्रिया अघि बढ्नेछ । फाइल अघि बढेमा गृहले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ । निणर्य गर्नुअघि सरकारले आधार र कारण खुलाई राष्ट्रपति कार्यालयमा राय पेश गर्नुपर्नेछ ।