काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेका अभियुक्तमाथि कसुर ठहर भएमा साढे १० वर्षसम्म कैद सजाय हुने भएको छ । मागदावीमा २४ वर्ष कैद सजायको दाबी लिइएपनि मुलुकी अपराध संहिताको दफा ४३ बमोजिम अधिकतम साढे १० वर्ष कैद सजाय हुने भएको हो ।
बुधबार सरकारी वकिल कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेसँगै अभियुक्तलाई कुल २४ वर्ष कैद सजायको मागदावी लिइएको छ । सरकारले चारवटा कसुर लगाउँदै कुल २४ वर्षको कैदको माग गरिएको भएपनि एकीकृत कसुरमा पहिलो ठूलो सजायको पूरा सजाय र दोस्रो ठूलो सजायको आधा सजाय मात्रै कायम हुने भएकाले अभियुक्तको कसुर प्रमाणित भए अधिकतम साँढे १० वर्ष जेल बस्नुपर्ने भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री राम बहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्व गृहसचिव टेक नारायण पाण्डे लगायतका ३० जनाविरुद्ध ४ वटा कसुरमा मुद्दा दर्ता गरेको थियो ।