• असार २० २०८१, बुधबार

व्यापार डुब्यो, अनि सुरु भयो ‘जाँती बस्यो हुँइती बिलौना’

जेष्ठ १० २०८०, बुधबार

घोराही । चम्किएको अनुहार, हाँसिरहेका रसिला आँखा, परै बाट मुस्कुराउँदै आएर आरामसित मिलाउने हात आजभोलि भेटिएका छैनन् । केहीले भन्छन् ‘व्यापार घाटापछि अन्तै कतै जानुभएको छ । यो मनले मानिरहेको छैन, त्यति सभ्य, सान्दार मानिस कसरी अचेत भएर फस्नुभयो ?’

आजभोली बजारतिर जसको पसलमा बस्यो नै बिलौना सुन्नुपर्छ । तुलसीपुर चोक नजिक चिया पिउन बस्यौँ । एक जनाले मेरो एउटा पुरै फ्लाईट खालि छ । कोही खोज्नै आउँदैनन् भन्नुभयो । मैले पुलुक्क अनुहारमा हेरेँ कुनै आकर्षण देखिनँ । निधार थोरै चाउरिएको र आँखाको नजर अन्तै विकेन्द्रित गरेको अवस्थाले पीडा छ भन्ने बुझियो । उहाँलाई भित्र भित्रै छट्पटी छ । आत्ममा अमन चयन छैन । जति बस्यो त्यति गुनासो सुन्नपर्छ भन्ने लाग्यो र म हिडेँ ।

अर्कोदिन शहिद उमेशमार्गको एउटा चिया पसलमा तिन जना बसेर चिया पिउन थाल्यो । गफको शुरुवात भयो घाटाबाट । नवनिर्मित भव्य महल तर्फ औंल्याउँदै एकजनाले भन्नुभयो, हेर्नुस् त त्यत्रो घर बनाएर भाडामा गएको छैन । तल्लो तला बाहेक पुरै घर खाली छ भन्नुस् । अनि थप्दै गए, त्यो घर बनाउन कति खर्च भयो होला । त्यो लगानी भाडामा नगए कसरी उठ्ला ? यसरी एक जनाले कुरा गर्दा दुई जनाले सहमति जनाएर साथ दियौँ ।

मलाई मोटरसाइकल शोरुममा पटक पटक पस्न मन लाग्छ । अलि बढि व्यापार हुने क्षेत्र मानिन्छ । कोरोना महामारीपछि भौतिक दुरी कायम राख्ने भनियो । सार्वजनिक यातायातमा चढ्न मानिसहरु डराए । त्यसपछि क्षमता अनुसार कसैले कार किने, कसैले मोटरसाइकल भएपनि किने । त्यसैले अटोको क्षेत्रमा व्यापार ह्रवात्तै बढ्यो । शोरुमहरुमा मानिसहरु बाक्लिएका हुन्थे । त्यही दृश्यको रमाइलो छ कि भनेर पसेँ, चाबी हस्तान्तरण गर्दै गरेको बेला पुगेछु । साहुजीलाई व्यापार कस्तो छ भनि सोधेँ ? असन्तुष्टिको ओठ लेब्रयाए । जाँगरबिना खिस्स हाँसे । ‘के को हुनु र ?’ उनीहरु स्कुटी लगेर हिँडे अनि शोरुममा कर्मचारी मात्रै रहे ।

यस्तै अर्को मोटरसाइकल शोरुममा बसेँ । नयाँ मोटरसाइकल घटेर लगभग खाली खाली थियो । तिनका अनुसार दुई तिन वर्षअघि एक सय मोटरसाइकल विक्री हुन्थे भने अहिले १५ वटा पनि मुस्किलले हुन्छन् । यही स्तरमा घट्ने हो भने व्यवसाय के हुने हो ? बैशाख र जेठमा सुधार हुने आशा छ । यति सुधार भएन र यहि अवस्था लम्बियो भने देशमा के हुने होला भनेर चिन्ता गरे ।

पुस्तकमा मार्जिन घटाएको पीडा पोख्छन् । कागजको मूल्य दिनानुदिन बढिरहेको छ । सरकारले पुस्तकको मुल्य बढाउन मानेन । प्रकाशकले कागज मसि लगायत लगानी उठाउन व्यापारीहरुको नाफा घटाइ दियो । अब कम नाफामा काम गर्नुपर्ने भयो । त्यससंगै जसले पैसा दिन्छ उसले पुस्तक पाउँछ । पुस्तक बेचेर पैसा दिउँला भन्नेले पाउने छैन । अब ठूलो धनराशी हुनेले मात्रै पुस्तक व्यवसाय गर्नसक्छ । अथवा पैसा ऋण गरेर हाल्न सक्नेले मात्रै व्यवसाय चलाउन सक्छ । त्यसैले पाठ्यपुस्तक ल्याउने हानथाप छैन । व्यवसायी भन्छन् ‘हामीलाई जाँगरै लागेको छैन ।’

त्यसपछि किराना पसलतर्फ गएको त उनीहरुलेपनि नाफा घटेको भन्छन् । दाल चामल सबैको मूल्य बढेको छ । तिनका अनुसार उद्योग तथा प्याकिङ भएर आउने ठाउँमै बढेको छ । खुद्रा बेच्नेले थोरै नाफा खाएर दिने हो । अहिले त्यो नाफा घटाएको हुनाले केही सामान एक कार्टुन बेच्दा १० रुपैयाँ आउँछ । पाँच दश रुपैयाँ छुट माग्ने ग्राहक धेरै छन् । तिनलाई दिने हो भने सकिगो ।

जुस पसलमा पहिला जस्तो एक बसाईमा हजारौँ रुपैयाँ सक्ने ग्राहक आउँदैनन् । तिनका अनुसार कहिले काहीँ आउने र ठिक्कको खानेहरु आइरहेका छन् । धेरै खाने, ठूलै रकम खर्च गर्नेहररु त कता गए कता ? महंगा महंगा फलका जुस खोज्नेहरु आउँदैनन् । उनको भनाईलाई आधार मान्ने हो भने फजुल खर्च गर्नेहरु घटे । त्यो घट्नु भनेको उनीहरुका आम्दानी टुट्नु हो । कमाई नभए के खर्च गर्ने ? यतिबेला धेरै नाफा आउने व्यवसाय पनि चलेका छैनन् ।

चिया पसलमा बसेको त्यो घर पनि बिकेन, यो घडेरी पनि लगेन । कुरा मिलिसकेको थियो, बयना गर्नेले बेलै किन्दैन भन्यो । सस्तोमा दिँदा पनि बिकेन । कारोबार ठप्प भयो । कोही मान्छे नै आउँदैन । बजारमा जुन गल्लीमा गएपनि सटर खाली छ भनेर टाँसेका भेटिन्छन् । घडेरी विक्रीमा छ भनेका हुन्छन् । यस्तो बर्बाद भयो । यसरी जता पुगेपनि उत्साहका कुरा छैनन् ।

यति नै सवाल कोट्याउने अनुमति चाहन्छु । यो सबै समस्या किन आयो र यसको दिगो समाधान के हो ? यही स्तरमा आर्थिक मन्दी बढ्ने हो भने आगामी कति समयभित्र भयावहको अवस्था आउँछ ? यो कुराको अनुमान विज्ञ पाठकबाट हुने छ नै । केही मैलेपनि राख्छु ।

पसलको र्याक र गोदाम हेरेर योजना बनाउने व्यवसायी धेरै देखियो । कसरी आयो र लगानी कति छ हेरेनौँ । ठूलो भवनमा छर्लक्कै भरिएको समान राख्ने साहुजी ठूला महाजन ठानिए । सबैले बडे साहुजी भनेपछि हुँकेर भन्ने भयो होला । त्यसो भएकाले ठूलै देखिने काम शुरु भयो । आय र व्यय मसिनो गरी हेरिएन । दैनिक कारोबारलाई आधार बनाएर व्यवहार भयो ।

नयाँ बैंक आयो नाइ कि हत्तपत्त खाता खोल्न त्यहीँ पुगे । वचत तथा सहकारीका कलेक्टरहरुले आफै खाता खोलिदिए । महंगा कार शोरुमहरु शहरमा भित्रिए । तिनका ग्राहक पनि उनै साहुजी भए । एक पछि अर्को शोरुमका अत्याधुनिक कार किनाइए । देउसी भैलो खेल्नेले बढि पैसा उनैलाई मागे । ठूला यज्ञहरुमा ठुला दानी उनै भए र तुलादान देखि केके दिनुपर्ने बढि नै दिए । समाज सेवा भनेको राजनीतिमा लाग्छु पर्छ भनेर दलको सदस्यता वितरण गरियो । त्यही आधारमा सहयोग चन्दा अलि बढि नै मागियो । विभिन्न कार्यक्रममा तपाईंको सहयोग कति भनेर खोजियो । चाड पर्व, माग्नेदेखि सहयोग लिनेहरु सबैले उनैलाई दुहुनो गाई बनाए ।

लगानी गर्न बैंकले पनि उनैमा आँखा लगाए । कुन समान थप्नुछ मैले सहयोग दिन्छु भनेर बैंकहरुमै प्रतिस्पर्धा चल्यो । उनीहरुले नियम भन्दा बाहिर गएर धितो मुल्यांकन गरिदिए । त्यहि पसल हेरेर जस्ले बढि ऋण दिन्छ उसैबाट ऋण ल्याउने साहुजीले मनस्थिति बनाए । त्यताबाट ठूलै रकम ऋण आयो । कामदार थपियो । कारोबार बढ्यो । जग्गा दलाल आए तपाईंले राम्रो ठाउँमा घडेरी किन्नुस् भनेर लोभ्याए । महंगा बोर्डिङ स्कूल । खुले तपाईंका छोराछोरी यहिँ ठिक हुन्छ भने । विश्वका नामी कम्पनीका सुविधा युक्त सामानका लागि पनि ग्राहक उनै भए ।

घर बनाउने ठेकेदारले थोरै रकममा गतिलै घर बन्ने अनुमान सुनाए । जब घर बनाउनुपर्ने भयो, एक करोडमा बन्छ भनेको घरमा दुई करोड बढि खर्च भयो । पेन्टरले हजुरले त यो हाल्नुस् भनेर महंगै देखाए । झ्याल ढोका र ग्रिल बेच्नेले पनि राम्रो भिडाइदिए । घर ठूलो बनेपछि डेकोरेशन महंगो खोज्यो । तन्ना र पर्दादेखि फर्निचरका सामान घर सुहाउँदो किनेर हालियो । यति सबै गर्दा खर्च ह्रवात्तै बढ्यो । त्यसै आधारमा कमाई भने बढेन । फाइदा बढेन ।

अन्तमा बैंकले ब्याज बढाउँदै लग्यो । कारको किस्ता सकिएको छैन । उधारो लैजानुस् भनेको हार्डवेयर र अन्य सामानको साहुले तारन्तर फोन गर्न थाले । यता पसलको सामान घर घडेरीमा डुब्यो । घडेरी र घर दुवै बिक्रि हुँदैनन् । पसलको समामान थप्ने रकम समेत अभाव हुँदै गयो । ग्राहक आएर फर्किन थाले । दिनानुदिन उद्योगति शुरु भयो । उधारो दिएको झरेन । बिचमा ऋण दिनेले पत्याएको उन्मादका कारण फसियो । सबै कुरा घाटैघाटामा गयो । यसरी वास्तविक नाफामा काम गर्न चुक्दाखेरि पनि केही समस्या आएका देखिन्छन् । केहि भने कुन कारणले भएको यसै भन्न सकिन्न तर जाँती बस्यो हुँइति बिलौना सुन्नुपर्छ ।