• मंसिर १९ २०८१, बुधबार

अमेरिकी माइक्रोन कम्पनीबाट उत्पादित चिप्समाथि चीनले लगायो प्रतिबन्ध

जेष्ठ १० २०८०, बुधबार

काठमाडौं । चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । ‘राष्ट्रिय सुरक्षामा जोखिम ल्याउन सक्ने’ भन्दै चीनले सूचना प्रविधि कम्पनीका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्न निर्देशन दिएको हो ।

विश्वका प्रभावशाली देशहरूको संगठन जी-७ को हालै सम्पन्न बैठकले ‘सेमिकन्डक्टर चिपको उत्पादन र विकासमा सहकार्य गर्ने र चीनप्रतिको निर्भरता कम गर्दै लाने’ लगायत विषयमा छलफल गरेको थियो । त्यसको प्रतिक्रियास्वरूप चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

चीनको साइबर एडमिनिस्ट्रेसनले आइतबार ‘राष्ट्रिय सुरक्षामा जोखिम ल्याउनसक्ने’ भन्दै चीनका महत्वपूणर् सूचना तथा अन्य प्रविधि सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्नुु भन्ने व्यहोराको निर्देशनात्मक विज्ञप्ति जारी गरेको हो ।

अमेरिका र चीनलगायत अन्य विकसित देशबीच केही समययता बढ्दो प्राविधिक तुसको यो पछिल्लो संकेत हो । अमेरिकाले संसदबाट कानुन नै पारित गरेर चिनियाँ कम्पनीहरूलाई कस्न सुरू गरेको महिनौंपछि चीनले पहिलोपटक अमेरिकी कम्पनीलाई चिपको विषय लिएर प्रतिबन्ध लगाएको हो ।

जी-सेभेन बैठकबाट बाहिरिने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँगको आफ्नो सम्बन्धलाई जोखिम न्यूनीकरण र विविधता बढाउनेतिर लग्ने भन्दै आपूर्ति संयन्त्रको दायरा बढाउने छलफल भएको प्रतिक्रिया दिएका थिए । जी-सेभेनको आधिकारिक विज्ञप्तिमा पनि चीनको ‘वित्तीय दबाबको अधिक प्रयोग’को आलोचना गरिएको छ ।

बीबीसीका अनुसार चीन माइक्रोनको प्रमुख बजारमध्ये एक हो र कम्पनीको कूल कारोबारको १० प्रतिशत हिस्सा चीनबाट आउने गरेको छ ।

सन् २०२२ मा झन्डै ३१ अर्ब डलर कमाइ गरेको सो कम्पनीले लगभग ३.३ अर्ब डलरभन्दा बढीको आम्दानी चीनबाट प्राप्त गरेको उसको प्रतिवेदनमा उल्लेख छ । गएको साता मात्र सो कम्पनीले जापानमा प्रविधि विकासको लागि ३.६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो ।