काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौँमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क काठमाडौँमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
काठमाडौँमा नेपालका प्रमुख पर्यटकीय सहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यहरू पर्यटकीय बसहरूले सेवा दिइरहेका छन् । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरू बोक्न बाध्य छन्’ उनले भनिन्, ‘त्यसैले काठमाडौँमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिस्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’
सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौँमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारिन् ।