• चैत्र २२ २०८१, शनिबार

बालबालिकालाई राम्रो संस्कार कसरी सिकाउने ?

जेष्ठ १० २०८०, बुधबार

बाल्यकाल जीवनपर्यन्त सिकाइको पनि सुरुवाती चरण हो। यसैले बाल्यकाललाई भाँडाको आकार दिनका लागि तयार गरिएको काँचो माटोसँग पनि तुलना गरिन्छ। शरीर र मनको संरचना निर्माण हुने समय भएकाले यतिखेरका अनुभव र अनुभूतिले बालबालिकाको समग्र जीवनको व्यक्तित्व तय गर्दछन् ।

मनोवैज्ञानिक फ्रायडले बाल्यकाललाई विभिन्न चरणमा बाँडेर त्यतिखेर उसले प्राप्त गरेको वातावरणका आधारमा उसको समग्र जीवनको पूर्वानुमान गर्न सकिने तथ्यलाई अगाडि सार्दै व्यक्तित्व निर्माण यसै समयमा सम्पन्न हुने तथ्य प्रस्तुत गरेका छन् । अन्य सामाजिक तथा संरचनात्मक मनोवैज्ञानिकले समेत बाल्यकालमा सिकेका कुराले व्यक्तिलाई जीवनभर निर्देश गरिरहने भएकाले यस समयलाई निकै महत्त्व दिएका छन् ।

जसरी कुनै पनि संरचनाको जग वा आधार कमजोर भयो भने पूरै संरचना कमजोर हुन्छ, त्यसैगरी बाल्यकालमा शारीरिक र मानसिक विकासका लागि आवश्यक पर्ने तत्त्व पर्याप्त रूपमा प्राप्त हुन नसकेमा वा कमसल चिज प्राप्त भएमा बालबालिकाको जीवन संरचना कमजोर बन्छ। कमजोर जगमा निर्माण भएको बालबालिकाको व्यक्तित्व जीवनकालमा दुर्घटनामा पर्ने तथा असामाजिक र असामान्य गतिविधिमा अलमलिने सम्भावना रहन्छ ।

बाल्यकाल मानव जीवनको सबैभन्दा संवेदनशील अनि सिर्जनशील समय हो। अभिभावक, छरछिमेकी तथा सामाजिक घटनाक्रमको अनुकरण गर्दै व्यवहार गर्न सिक्ने उमेर पनि भएकाले बाल्यकालीन अनुभवले बालमनोविज्ञानमा गम्भीर एवं अमीट छाप पारेका हुन्छन् । केही गुण जैविक आमाबाबुबाट वंशानुगत रूपमा प्राप्त गरे पनि धेरैजसो व्यवहार र व्यक्तित्वको समेत परिवार र समाजबाट सिकेर निर्माण हुने भएकाले बाल मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने क्रियाकलाप अभिभावकद्वारा प्रदर्शित हुनु आवश्यक हुन्छ।

मोडलिङ र अनुकरणबाट सामाजिक व्यवहार तथा भाषा सिक्ने भएकाले बालबालिकाका निकट रहने व्यक्तिले आदर्श व्यवहार गरे मात्र भविष्यमा असल व्यक्ति बन्ने गुण बालबालिकाले ग्रहण गर्दछन्, अन्यथा बाल्यकालमा खराब व्यवहारमा अभ्यस्त भएमा सो बानी परिवर्तन गर्न निकै कठिन हुन्छ।

सूचना र प्रविधिमा भएको तीव्र विकासले सामाजिक मूल्य, मान्यता, रहनसहन र क्रियाकलापमा समेत प्रत्यक्ष प्रभाव परेको छ । परम्परागत रूपमा मानिदै आएका चालचलन र रीतिरिवाजमा पनि पश्चिमी सभ्यताका कारण दिनानुदिन परिवर्तन भइरहेको छ।

संयुक्त परिवारबाट एकात्मक पारिवारिक ढाँचा तथा ग्रामीण परिवेशबाट नगरोन्मुख वा सहरी परिवेशमा प्रवेश गर्दा आमाबाबुले छोराछोरीलाई दिने माया, ममता र अभिभावकीय भूमिकामा समेत परिवर्तन आएको छ । आर्थिक सम्पन्नतालाई सबैभन्दा महत्त्व दिने आजको समाजले सिर्जना गरेका विभिन्न किसिमका जटिलताको प्रभाव स–साना बालबालिकामा समेत पर्न थालेको छ। पुस्तान्तरण कारण बाबुआमा र छोराछोरीबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

बालबालिकाको शिक्षादीक्षाका लागि आमाबाबुले अथक् मेहनत र परिश्रम गरे पनि उनीहरूको इच्छाअनुसार छोराछोरीको आचरण र व्यवहार नहुँदा आमाबाबुमा उदासीनता र चिन्ता बढ्दै गएको पाइन्छ । छोराछोरीलाई राम्रो शिक्षादीक्षा, उपयुक्त वातावरण र आर्थिक रूपमा समृद्ध बनाउने ध्येयमा लागेका बाबुआमा आफूले भोगेका दुःखलाई तुलना गर्दै प्रशस्त मात्रामा सुविधा दिँदा पनि छोराछोरीबाट राम्रो उपलब्धि हासिल गर्न नसकेकामा चिन्तित देखिन्छन्।

यस्तै अवस्थामा बालबालिकासँग कसरी व्यवहार गर्ने र उनीहरूको मनोविज्ञानलाई बुझेर के कसरी काम गराउने वा अनुशासन र परम्परागत कुरा सिकाउने भन्ने बारेमा धेरै अभिभावकमा अन्योलता देखिन्छ। परम्परागत र आधुनिक सभ्यताका बीचको संक्रमण अहिलेको बाबुआमा पुस्ता प्राचीनता र आधुनिकताको पुलका रूपमा रहेको छ भने छोराछोरीको नयाँ पुस्ताले बाबुआमालाई केही पनि नजानेको र केही पनि नबुझ्ने पुस्ताका रूपमा लिने गरेको छ । यस्तो अवस्थामा पारिवारिक सम्बन्धलाई सुमधुर बनाउँदै बालबालिकाको व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउने शैक्षिक सामग्रीको आवश्यकता खड्किएको छ।

जीवनको समस्त गुण, ऐश्वर्य, समृद्धि तथा वैभवको आधारशिलाको चरित्र नैतिक मूल्य हो । वैदिक मन्त्रमा हाम्रा ऋषिले यसकारण भनेका छन् कि–असतोमा सद् गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृत गमय ।

अर्थात हे ईश्वर मलाई असत्यबाट सत्य तर्फ लैजानु होस्, अन्धकारबाट मलाई प्रकाश तर्फ लैजानुहोस्, असत्य र अन्धकारको सम्बन्ध मानिसलाई अनैतिकता अर्थात् ‘असत्य’को बाटोबाट आउँछ ।

नैतिक मूल्यका कारण चरित्रवान व्यक्तिको निर्माण गर्न सकिन्छ । तर यसको अभावमा व्यक्तिको कुकृत्यले यो धर्तीलाई नर्क (खराब) बनाउन सक्छ । नैतिक मूल्य मानिसको आधारस्तम्भ हो । जसले मानवतालाई जीवित राख्छ । जसको जीवनमा ठूलो महत्व रहेको हुन्छ ।

जीवनमा सुख, समृद्धि, ऐश्वर्य, धन, सम्पत्ति, यश, नाम आनन्द प्राप्तिमा नैतिकताको निकै ठूलो योगदान हुन्छ । नैतिक गुणबाट विभूषित व्यक्तिको चरणमा सफलताले चुम्छ । तर आजको समयमा हाम्रो संस्कार तथा परम्परा अर्थात नैतिक मूल्यको पतन भइरहेको छ ।

संयुक्त परिवारको विघटन, एकल परिवार, पाश्चात्य संस्कार र संस्कृतिको प्रभावमा बालबालिका हुर्किइरहेका छन् ।

बालबालिकाले सबैभन्दा पहिला नैतिकताको पाठ आफ्ना घरमा परिवारजनका साथ सिक्छन् । आमा–बुवाको भूमिका त किसानको जस्तो हुन्छ । जसरी किसानले बीउको सही हेरचाह गरेर त्यसलाई फलाउन फूलाउनका लागि तयार गर्छ त्यस्तै आमा बुवाले पनि आफ्ना सन्तानको लागि यस्तै माहोल दिन जरुरी छ । आफ्नो सन्तान राम्रो मानिस९संस्कारी० बनेर सफताको सिँढी चढोस् भन्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

यस्तोमा यदी तपाई बालबालिकालाई संस्कार दिन चाहनुहुन्छ भने उनीहरुलाई नैतिक संस्कार दिन जरुरी छ । त्यसका लागि तपाईंले केही यस्ता कार्य गर्न जरुरी छ।

– बालबालिकालाई नैतिक विकासलाई प्रभावित गर्ने एक प्रमुख कारक हो परिवार । परिवारमा नै रहेर, शिक्षा–दीक्षा लिएर बालबालिकाले नैतिक आचरण सिक्ने कार्य गर्छ । एउटा कुरा तपाईले सधै याद राख्न जरुरी छ । बालबालिका आफ्ना आमा बुवा तथा परिवारका सदस्यको व्यवहार एवं आचरणको अनुकरण गर्छन् । जस्तो खालको व्यवहार तपाईले गर्नुहुन्छ बालबालिकाले त्यस्तै प्रकारको व्यवहार गर्छन् । त्यसकारण यो कुराको सधैं ख्याल हुन जरुरी छ कि तपाईले गर्ने व्यवहार सधैं राम्रो हुन सकोस् ।

– नैतिक विकासमा रीति रिवाज, प्रथा, परम्परा एवं कानूनको अति महत्वपूर्ण स्थान हुन्छ । तर जब सन्तान साना (कम उमेर) का हुन्छन् उनीहरुलाई सामाजिक परम्पराका अनुसार नैतिक आचरणको जानकारी हुँदैन । यस्तोमा यदी बालबालिकालाई खेलको माध्यमबाट नैतिक मूल्यको शिक्षा दिन सकियो भने राम्रो हुन्छ । जब बालबालिकाले खेल्ने समयमा आफ्नो साथी समूहका बालबालिकाको कुरा सुन्दैन भने त्यसमाथि उनीहरुलाई गाली गर्ने नगर्नुहोस् बरु माया प्रेमसहित सम्झाउने प्रयास गर्नुहोस् ।

–बालबालिकालाई नैतिकताको पाठ पढाउँनका लागि पुरस्कार एवं दण्डको निकै ठूलो भूमिका रहेको हुन्छ । पुरस्कार उनीहरुलाई प्रत्सान गर्छ भने दण्डले उनीहरुमा दमनको प्रवृत्ति विकास हुन्छ । जब बालबालिकाले राम्रो कार्य गर्छन् पुरस्कृत जरुर गर्नुस् । यस्तो गर्नाले भविष्यमा पनि उसले राम्रो कार्यगर्ने छ । यसको ठिक विपरित जब उसले नराम्रो कार्य गर्दा उसलाई दण्ड दिने पनि गर्नुहोस् । जसले गर्दा उसमा नराम्रो कामको फलको बारेमा याद रहोस् ।

–नैतिक मूल्यको विकासमा मनोरञ्जनको पनि निकै ठूलो भूमिका हुन्छ । यस कारण आफ्ना बालबालिकाका लागि स्वस्थय मनोरञ्जनको पनि सुविधा दिनुहोस् । जस्तो टिभी, सिनेमा, पार्टीमा जानु, राम्रा पुस्तकहरु पढ्नु, चुट्किलाहरु पढ्नु आदी । बालसुलभ मनमा यी चिजहरुको तत्काल प्रभाव पर्छ । यसकारण यो कुरालाई ध्यान दिन जरुरी छ कि बालबालिकालाई मारपिट, अनादर, कामूकता युक्त फिल्म वा पुस्तकहरु नदिनुहोस् । उनीहरुलाई यस्ता पुस्तक र फिल्महरु देखाउनुहोस् जसले नैतिक मूल्य मान्यता सिकाओस् ।

–बालबालिकाको साथी–समूहको पनि उनीहरुको नैतिक विकासमा प्रभाव पर्छ । बालबालिका आफ्ना आमा बुवा अथवा परिवारका सदस्यसँगबाट भन्दा धेरै उसले आफ्नो साथीभाइ वा समूहबाट सिकिरहेको हुन्छ ।यदी बालबालिकाको साथी झुठो बोल्छ, चोरी गर्छ भन्ने आफ्नो सन्तानले पनि त्यस्तै सिक्छ । त्यसैले बालबालिकाको संगतलाई पनि नजरअन्दाज गर्नु हुँदैन । सानु उमेर छ भनेर त्यस्ता कुराहरुलाई वेवास्ता गर्दा पछि समस्या आउँछ । त्यसैले ख्याल गर्न जरुरी छ ।

–बालबालिकामा मानवीय चेतनाको विकास गर्नुहोस् । उसलाई परोपकारी, दयालु, सहनशीलता, दानी, ज्ञानी, त्यागी, क्षमाशील, कर्तव्यनिष्ठ, सहिष्णु तथा उदार बन्नका लागि पठा पढाउनुहोस्, यही गुण उसलाई पद, प्रतिष्ठा तथा लोकप्रियता दिलाउछ ।