• असार १ २०८२, आईतवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी

जेष्ठ १० २०८०, बुधबार

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । प्रहरीको रायकै आधारमा अभियोजन दर्ता हुने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताएका छन् ।

प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनसम्म थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म आजै अभियोग पत्र दर्ता गर्ने तयारी गरिएको हो । प्रहरीका अनुसार  राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिनेछ ।

यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।