• असार १ २०८२, आईतवार

राजनीति गर्ने भए पार्टी खोल्न पूर्वराजालाई सांसदहरूकाे चेतावनी

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । एमाले सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए ।

उनले राजाले शान्तिपूणर् रुपले गद्दी छोडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए । उनले राजनीति गर्न मन लागे पार्टी खोलेर राजनीतिमा आउन ज्ञानेन्द्रलाई चुनौतीसमेत दिए ।

त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताए । दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने ठोकुवा गरे ।
कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरूलाई कुनै चिन्ता नभएको बताए ।

उनले नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहेसम्म केही तत्वहरू सल्बराइरहने टिप्पणी गरे । उनले पूर्वराजाको सक्रियतालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताए ।