काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आक्रमणको प्रयास भएको छ । सोमबार राति एक व्यक्तिले भाडामा लिएको बक्स ट्रक गाडी ह्वाइट हाउसको सुरक्षा ब्यारियरमा ठोक्काएका थिए ।
अमेरिकी प्रहरीका अनुसार ती व्यक्तिले जानाजान ह्वाइट हाउस परिसरमा गाडी हुइँक्याउन खोजेका थिए । यस घटनामा कोही घाइते भएका छैनन् र हताहतीको अवस्था सिर्जना भएन ।
रोयटर्सका अनुसार प्रहरीले ती व्यक्तिको साथबाट नाजी स्वस्तिक चिन्हसहितको झण्डा फेला पारेका छन् । साथै एक शंकास्पद वस्तुसहितको झोला पनि भेटिएको बताइएको छ । आक्रमणकारीले सवारी ह्वाइट हाउसमा हुइँक्याउन खोज्दा अमेरिकी राष्ट्रपति जो बाइडेन कहाँ थिए भनेर खुलाइएको छैन । स्थानीय समयअनुसार साढे ९ बजेको समयमा यो घटना भएको थियो ।
विस्फोटन हुने आशंकाका कारण केहीबेरमै वासिंटन फायर डिपार्टमेन्ट घटनास्थल पुगिसकेका थिए । हाल त्यो शंकास्पद बस्तु र ती व्यक्ति को हुन् भनेर अनुसन्धान जारी छ । यो घटनाको कारणबारे पनि अध्ययन भइरहेको छ ।