जेष्ठ शुक्ल पक्षको दशमीलाई गङ्गा दशहराको रुपमा मान्दै आइएको छ । हिन्दु धर्मशास्त्र अनुसार यो दिनमा गङ्गामा स्नान गरेर गङ्गामाताको पुजा गर्नाले दश किसिमका पाप नाश हुन्छ भनिएको छ ।
यो दिन गङ्गामा स्नान गरेर गङ्गा माताको पूजा गर्यो भने आफूले जानी नजानी गरेका दश किसिमका पाप नाश भएर मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ । शास्त्रमा उल्लेख गरेअनुसार दशवटा पापमा तीन कायिक, चार वाचिक र तीनवटा मानसिक भनिएको छ । जस्तै कि, आफूले नदिएको सामान मैले दिएको छु भनि अरुसँग फिर्ता लिने शास्त्रले गर्नु हुँदैन भनेको छ ।
हिंसा गर्नु, परस्त्री गमन गर्नु, यी तीन कायिक अर्थात् शरीरले गरिने पाप हो । नराम्रो वचन बोल्नु, झुठ कुरा गर्नु, अरुलाई दोष दिनु निष्प्रयोजनका कुरा गर्नु, यी वाचिक अर्थात् वचनले गरिने पाप हुन् । त्यस्तै अरुको धनमाल खोसेर लिने विचार गर्नु, मनले अरुको नराम्रो कुरा विचार गर्नु र नास्तिक कुरा मात्र सोच्ने गर्नु मानसिक अर्थात् मनले गरिने पाप हो ।
यी दश किसिमका पाप गरियो भने पनि दशहरा स्नान गर्नाले पाप नाश हुन्छ । यो दिन गङ्गा नदीमा गएर वा घरमै बसेर भए पनि दशहरा स्नान गर्नाले पाप नाश हुन्छ । यो दिन गङ्गा नदीमा गएर वा घरमै बसेर भए पनि हे, गङ्गामाता देवता र दैत्यहरुले सदा वन्दना छ भनि प्राथना गरेमा मुक्ति र भक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ । गङ्गा नदी भनेको देव नदी हो ।
गङ्गा नदी मानिसहरुको कल्याण गर्न स्वर्गवाट धर्तीमा जेष्ठ शुक्ल पक्ष दशमीका दिन झरेकी हुन् । यदि यो तिथिमा सोमबार र हस्ता नक्षत्र पर्न गयो भने अत्यन्तै भुल रहने र यो दिन स्नान गर्नाले सम्पूणर् पाप नाश हुन्छ भनिएको छ । यसरी सम्पूणर् पाप नाश गर्ने भगवती गङ्गाको पूजा गर्दा दशथरी फूल, दशवटा धुप, दशवटा बत्ती र दशै किसिमका नै बौद्ध देश बीरा पान र दशवटा फलफूल राखी पूजा गर्नुपर्छ ।
त्यस्तै दक्षिणा दिँदा पनि दशजना ब्रामणहरुलाई दिनु पर्छ । यो दिन दान गर्दा पनि जौ-तिल १० मुठीका दरले दिनुपर्छ । गङ्गा पूजा गर्दा यसरी दश-दश वटाको दरले गर्नु परे जस्तै गङ्गा स्नान गर्दा पनि दश पटक गङ्गामा डुबुल्की मार्दै स्नान गर्नु पर्ने कुरा पनि उल्लेख गरिएको छ । यो दिन गङ्गा अवतरण भएको कथा पनि सुन्ने चलन छ ।
त्यो कथा यस्तो छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म अयोध्याको सूर्यवंशमा भएको हो । उहाँकै पूर्वजन महाराजा सगर चक्रवर्ती राजा भएर बसेका रहेछन् । राजा सगरको केशिनी र सुमती नामक दुई रानी रहेछन् । रानी केशिनीका पुत्र असमज्जस एक जना मात्रै रहेछ भने रानी सुमतीका पुत्रहरु भने ६० हजार रहेछन् । असमज्जसका पुत्र पनि एक जना अंशुमान मात्र रहेछन् । राजा सगरको असमज्जस सहित सबै पुत्रहरु अत्यन्तै उदण्ड र दुष्ट प्रवृत्तिका रहेछन् । तर नाती अंशुमान भने धार्मिक प्रवृतिका रहेछन् ।
पुत्रहरुका चाला देखेर अत्यन्तै दुःखी भएका सगरले असमज्जलाई देश निकाला गरिदिएछन् । अनि नाती अंशुमानलाई राज्यको उत्तराधिकारी बनाएछन् । राजाका ६० साठी हजार पुत्रहरु देखेर आफू पनि अत्यन्तै दुःखी भएका थिए । एकदिन राजा सगरले अश्वमेघ यज्ञको अनुष्ठान गरे । त्यसबेला एउटा घोडा दिइयो । देवराज इन्द्रले त्यो घोडा चोरेर पातालमा लगि कपिलमुनीको आश्रममा बाँधिदिए ।
तपस्यामा रहेका मुनीले त्यो कुरा थाहा पाउन सकेनन् । राजा सगरका ६० हजार अहंकारी पुत्रहरुले पुथ्वीका विभिन्न स्थानमा गई घोडा खोज्न थाले । उनीहरु घोडा खोज्न जाँदा जाँदा हैरान भएछन् । आखिरमा तिनै ६० हजार जना पुत्रहरु पातालमा गई खोज्दै जाँदा कपिलमुनीको आश्रममा पुग्छन् । उनीहरुले त्यहाँ घोडा बाँधिराखेको देखेर रिसले चुर हुँदै हतियार उठाउँदै कपिलमुनीलाई मार्छु भनि दौडिए । उनीहरुको आवाजले कपिलमुनीको तपस्या भङ्ग भएर आखाँ खोलेर हेर्छन् ।
मुनीको आँखाबाट निस्केको तेजले सगरका ६० हजार जना पुत्रहरु तत्कालै भष्म हुन्छन् । गरुडले यो कुरा थाहा पाई अंशुमानलाई भन्न जान्छ । अनि अंशुमानले कपिलमुनीको आश्रममा गई प्राथना गर्छ । अनुनय विनय गर्छ । कपिलमुनीले अंशुमानको प्राथनाले प्रसन्न भई भन्छन्, ‘अंशुमान घोडा लगेर आफ्नो पिताको यज्ञ पूरा गर्नु । यी सगरका ६० हजार जना पुत्र सबै नास्तिक र उग्र स्वमानका भएकाले भष्म हुन गएको हो । यिनीहरुको मुक्ति त्यसबेलामा मात्र हुन्छ ।
जुनबेला यिनीहरुको भष्म भएको खरानी गङ्गा जलमा पर्छ । अंशुमान घोडा चढेर गई आफ्ना पिताको यज्ञ पूरा गर्छ । महाराज सगरपछि अंशुमान राजा हुन्छ । उसले आफ्ना काकाहरुको उद्धार कसरी गर्ने भन्ने कुरामा चिन्ता लिइरहन्छ । केही समयपछि अंशुमानले आफ्ना पुत्र दिलीपलाई राज्य दिएर वनमा जान्छ ।
अनि उसले गङ्गालाई पृथ्वीमा कसरी ल्याउन सकिन्छ भनि तपस्या गर्छ तर तपस्या गर्दा गर्दै मृत्यु हुन्छ । महाराज दिलीपले पनि आफ्ना पुत्र भगिरथलाई राज्य दिएर बाबुले जस्तै तपस्या गर्न जान्छ तर उसको पनि तपस्या गर्दा गर्दै मृत्यु हुन्छ । त्यसपछि भगिरथले ब्रह्माजीको घोर तपस्या गर्छ । भगिरथले यसरी घोर तपस्या गरेकाले ब्रम्हा प्रसन्न भई दर्शन दिन्छन् ।
वर माग भन्दा भगिरथले मेरा ६० हजार जना काकाहरु कपिलमुनीको श्रापबाट भष्म भएका छन् । उनीहरुको मुक्तिका लागि गङ्गालाई पृथ्वीमा पठाई ल्याउनु पर्ने वर माग्छन् । भगिरथको कुरा सुनेर ब्रम्हाले भन्छन् ‘मैले गङ्गालाई पृथ्वीमा पठाउँछु तर गङ्गाको वेगलाई कस्ले छेक्न सक्छ ? यसका लागि तिमीले महादेवको तपस्या गर भन्छन् ।
ब्रम्हाले आदेश गरे बमोजिम भगिरथले भुइँमा एउटा खुट्टाले भात्र टेकेर महादेवको तपस्या गर्छन् । भगिरथको यस्तो कठोर तपस्याबाट खुशी भएर महादेवले गङ्गालाई आफ्नो जरामा छेकिदिन्छन् । एउटा जरा भने पृथ्वीमा छोडी दिन्छन् । यसरी गङ्गा पृथ्वीमा आइपुग्छिन् ।
अनि अघिअघि राजा भरिगरथ र पछिपछि गङ्गा बग्दै जान्छिन् । बीच बाटोमा जान्हवी ऋषिको आश्रम परेछ । ऋषिको कमण्डलु र लौरो पनि बगाई लगेको देखेर ऋषिले गङ्गालाई नै पिइदिन्छन् । अघिअघि गइरहेको राजा भगिरथले पछाडि फर्केर हेर्दा गङ्गालाई नदेखेपछि ऋषिको आडमा गएर दण्डवत गरी प्रार्थना गर्छन् ।
अनि ऋषि प्रसन्न भई गङ्गालाई दाहिने कानबाट निकालीदिन्छ । यसो भएकोले गङ्गाको नाम जान्हवी हुन गयो । त्यस्तै भरिगरथको तपस्याबाट पृथ्वीमा अवतरण भएकाले भागीरथी पनि भन्ने गरियो । यसरी भगवती भागीरथी गङ्गा बाटोमा पर्ने विभिन्न स्थानलाई हराभरा गर्दै कपिलमुनीको आश्रममा पुग्दा भगिरथका ६० हजार जना पूर्वजका खरानीको पहाड भई रहेको स्थानमा गई छुने बित्तिकै सगरका ६० हजार जना पुत्रहरु दिव्यरुप धारण गरि दिव्यलोकमा जान पाए ।