• चैत्र १९ २०८१, बुधबार

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही रोल्पाका बुढामगरलाई विमानस्थलमा गरियो भव्य स्वागत {तस्विर सहित }

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरे ।

भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् । स्वागत गर्दै पर्यटनमन्त्री किराँतीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक-पटक देखाएको भन्दै हार्दिक बधाई दिए ।

‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ,’ मन्त्री किराँतीले भने, ‘उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।’

आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिए । ’आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै-धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन ।’