काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोली मूल अभियोगपत्र निर्माणमा जुटेको छ। प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएपछि अध्ययन गर्दै सरकारी वकिल कार्यालय अभियोगपत्र निर्माणमा लागेको हो।
अभियोगपत्र तयार पार्न जिल्ला सरकारी वकिल कार्यायका प्रमुख अच्यूतमणि नेउपाने मातहत ८ जना सक्रिय छन्। सोमबार आधा रातसम्म अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर अभियोगपत्रको खाका निर्माण गरिएको र मंगलवारसम्म लेखन सक्ने तयारी रहेको एक अधिकृतले बताए।
प्रहरीले हालसम्म ३३ जनालाई प्रतिवादी बनाउन सकिने भनि अनुसन्धान प्रतिवेदन पेस गरेको छ। पक्राउ परेका १६, फरार रहेका १४ र ३ जना फरारका साथै उनीहरुको वतन नै नखुलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रहरीले फरार रहेका व्यक्तिहरुलाई प्रतिवादी बनाउनुपर्ने र अदालतबाट म्याद जारी गर्दै हाजिर गराएर मुद्दा अघि बढाउन सकिने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।