काठमाडौं । बजारतिर घुम्न जाऔं भनी एक किशोरीलाई मोटरसाइकलमा राखेर जंगलमा पुर्याइ बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन् । बर्दियाको ठाकुर बाबा नगरपालिका-६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियारले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्याइ बलात्कार गरेका थिए ।
पीडित किशोरी घरमै बसिरहेको समयमा छिमेकी गाउँ घर भई चिनजानका दुई व्यक्तिले किशोरीलाई बजारतिर घुम्न जाऔं भनेर मोटरसाइकलमा लगे पनि सवारी कतै नरोकी ठाकुर बाबा-७ स्थित मध्यवर्ती सामुदायिक वनमा लगेर दुबै जनाले बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन् । बलात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार बिहान १ बजे गाउँमा हिँडिरहेको बेला नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय वगनाहा भूरिगाउँबाट प्रहरी निरीक्षक पवन पछाइँको कमाण्डमा खटिएको टोलीले परियारद्वयलाई नियन्त्रणमा लिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भइसकेको र आरोपितले घटना स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए। पक्राउ परेकाविरूद्ध बलात्कार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।