• मंसिर १४ २०८१, शुक्रबार

भाइरल भएको भाँचिएको ‘यात्री’ मोटरसाइकलको तस्विर पुरानो भएको स्पष्टिकरण

जेष्ठ ८ २०८०, सोमबार

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा यात्री मोटरसाइकलको एउटा फोटो भाइरल छ । जसमा मोटरसाइकल गुड्दागुड्दै च्यासिस भाँचिएको भनिएको छ । उक्त फोटो हालको नभई परीक्षण समयको रहेको कम्पनीले स्पष्टीकरण दिएको छ ।

कम्पनीले सोमबार दिउँसो एक फेसबुक पोष्टमार्फत् जरुरी सूचना जारी गर्दै भनेको छ, ‘परिवेश नै नबुझी सामाजिक सञ्जालमा भाँचिएको फोटो भाइरल हुँदैछ । हामी उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्छौं । आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल भएको हो ।’ कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले हाल भाइरल भइरहेको फोटो ‘परीक्षण बाइक’को रहेको बताउँदै आफ्नो उत्पादनहरूमा कुनै समस्या नभएको बताए ।

उक्त फोटोमा कतिपयले यात्री मोटरसाइकलको गुणस्तरमा प्रश्न उठाइरहेका छन् । यसमा कम्पनीका प्राविधिक निर्देशक पौडेलले भने कम्पनीद्वारा उत्पादित मोटरसाइकलमा ढुक्क हुन बताएका छन् ।
उत्पादित र बिक्री भएका बाइकहरूमा कुनै त्रुटि नभएको उनको भनाइ छ ।