• मंसिर १२ २०८१, बुधबार

ऐतिहासिक पुस्तकालय मासेर ‘झण्डा पार्क’ बनाउँदै पोखराका मेयर आचार्य

जेष्ठ ८ २०८०, सोमबार

कास्की । पोखरा महानगरले व्यस्त बजार महेन्द्रपुलमा अवस्थित सार्वजनिक पुस्तकालय मासेर संसारभरका झण्डा फहराउने भएको छ । जहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशका झण्डा रहनेछन् ।

सँगसँगै पोखरा महानगर र झण्डा पार्क बनाइदिए वापत लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि त्यहाँ फहराउनेछ । झण्डामुनि सम्बन्धित देश वा संस्थाको नाम लेखिनेछ । पोखरा महानगरका मेयर धनराज आचार्यको महत्वाकांक्षामा उक्त झण्डा पार्क बन्न लागेको हो । महेन्द्रपुलको पुलनिर बन्न लागेको झण्डा पार्क भएको ठाउँमा यसअघि पोखरा सार्वजनिक पुस्तकालय सञ्चालनमा थियो । पुस्तकालयमा डोजर चलाएर उक्त ठाउँमा झण्डा पार्क बनाउने अवधारणा मेयर आचार्यले नै अघि सारेका हुन् ।

लायन्स क्लब इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहेका मेयर आचार्यको उक्त अवधारणा पुरा गर्न सोही क्लबले बजेट खर्चेको छ । क्लबले ७० लाख रूपैयाँ लागतमा झण्डा पार्क बनाउन लागेको हो । पोखराको मुख्य व्यापारिक केन्द्र मानिने महेन्द्रपुल पर्यटकीय बजार भन्दा पनि दैनिक उपभोग्य सामाग्री खरिद बिक्री केन्द्रका रूपमा चर्चित छ ।

पर्यटक भन्दा दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्न आउने मानिसको भीड लाग्ने ठाउँमा पुस्तकालय हटाएर झण्डा पार्क बनाउनुलाई मेयर आचार्यले पर्यटकीय ‘प्रडक्ट’ भन्दै आफ्नो महत्वपूणर् ‘भिजन’का रूपमा प्रस्तुत गरेका छन् । झण्डा पार्क बन्दै गरेको ठाउँमा मासिएको पुस्तकालय शहरको बीचमा रहेको एकमात्र पुस्तकालय थियो ।

जहाँ साहित्यिक रचना वाचनदेखि पुस्तक र सार्वजनिक सरोकारका विषयमा नियमित छलफल हुन्थे । काठमाडौंस्थित अमेरिकी दुतावासले समेत पुस्तक, टेबल, कुर्ची लगायत सहयोग गरेको थियो भने नियमित छलफलका लागि पनि सहायता प्रदान गरेको थियो । महानगरले पनि पुस्तकालयलाई सहायता गर्नुको सट्टा डोजर चलाएको भनेर पोखराका वुद्धिजीवीहरू चिन्तित छन् ।

पुस्तकालयमा संगृहित पुस्तक अहिले नयाँ बजारस्थित क्षेत्री समाजको कार्यालयमा लगेर राखिएको छ । क्षेत्री समाजमा पुस्तकालय सरेपछि पाठकले अपायक पर्ने भन्दै अलमलिने गरेको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ । पञ्चायतकालमा उक्त पुस्तकालय बन्नुअघि त्यहाँ वाचनालय चलेको थियो । नियमित पत्रपत्रिका र पुस्तक पढ्ने जमातले वाचन गरेर अरूलाई समाचार र कथाहरू सुनाउँथे । पञ्चायतकालको बन्द समाजमा ज्ञानगुनका कुरा गर्थे ।