मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बाख्मुत शहर रुसको कब्जामा गएको भन्दै शुभकामना दिएका छन् । रुसी लडाकु समूह वाग्नरले पनि बाख्मुतमा रुसी झण्डा र वाग्नरको ब्यानर फहराएका छन् ।
तर रुसी दाबीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अस्वीकार गरेका छन् । आइतबार जी-७ बैठकमा जेलेन्स्कीले विश्वका शीर्ष नेताहरूसँगको छलफलमा रुसी भाडाका लडाकु समूहले भिडियो सार्वजनिक गर्दै बाख्मुत पूणर्रूपमा रुसी कब्जामा गएको दाबी गरेका थिए ।
त्यसपछि नै पुटिनले आफ्ना सेनाहरूलाई शुभकामना दिएका थिए । तर जेलेन्स्कीले जी-७ बैठक समाप्त भएपछि आयोजना भएको पत्रकार सम्मेलनमा हालसम्म बाख्मुत रुसको कब्जामा नगएको र आफ्ना सेनाले कडारूपमा रुसको प्रतिकार गरिरहेको अभिव्यक्ति दिए ।
केही समयअगाडि मात्र जेलेन्स्कीले रुसका लडाकु समूहले बाख्मुतमा युद्ध हारिसकेको अभिव्यक्ति दिएका थिए भने युक्रेनका सेनाले रुसी ठेगानमा आफूले बेजोडसँग आक्रमण गरिरहेका छौँ भनेर भिडियो नै सार्वजनिक गरेका थिए । यस्तै जेलेन्स्कीले सन् १९४५ को हिरोसिमाले हालको बाख्मुत शहरको झल्को दिएको पनि उल्लेख गरेका छन् ।
सन् १९४५ मा हिरोसिमा परमाणु बमले ध्वस्त भएको र हाल आफ्नो देशको बाख्मुत शहर रुसी आक्रमणले ध्वस्त भएको उनको भनाइ छ । हिरोसिमा वर्षौंको पुनर्निर्माणपछि अहिले आधुनिक शहरको रूपमा बाँचिरहेको र बाख्मुतले पनि पुनर्जीवन पाउने जेलेन्स्कीको विश्वास छ । जेलेन्स्कीले युक्रेनको झण्डा जबसम्म रहन्छ, तबसम्म आफूहरूको आत्मविश्वास कमजोर नबन्ने पनि उल्लेख गरेका छन् । उनले अमेरिकाले युक्रेनलाई एफ-१६ लडाकु विमान दिनेबारे पनि पुष्टि गरेका छन् । रोयटर्स