• मंसिर १४ २०८१, शुक्रबार

कान्तिपुरले ६६ पत्रकारलाई हटाउँदै, श्रमजीवी पत्रकार संघद्वारा आन्दोलनको तयारी

जेष्ठ ८ २०८०, सोमबार

काठमाडौं । नेपालको सबभन्दा ठूलो र चर्चित सञ्चारमाध्यम कान्तिपुरले दर्जनौं पत्रकारहरुलाई हटाउन लागेको समाचार छ । सो पब्लिकेसनले कान्तिपुर पब्लिकेसन्स (केएमजी)का HR परमानन्द खनाल र कान्तिपुर  TV का  HR पुष्पराज गिरीले कान्तिपुर टिभीको तीनकुनेस्थित कार्यालयमा कार्यरत ११ जना, सातवटै प्रदेशका व्युरो चिफ, कान्तिपुर दैनिक पत्रिकामा कार्यरत ३५ जना र स्थायी रूपमा २० वर्षसम्म काम गरेका पत्रकार र जिल्ला रिपोर्टरहरुलाई फोन गरेर तुरुन्त राजीनामा दिन दबाब दिइरहेको श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

अध्यक्ष जैसीका अनुसार केएमजी वितरण विभागका ११ जना श्रमजीवी र ईकान्तिपुर डटकमका ३ जना स्थायीलाई पहिला अस्थायीको पत्र बनाएर जबर्जस्ती राजीनामा दिन लगाइएको छ । अध्यक्ष जैसी भन्छन्, ‘यता पत्रकार, कर्मचारी तथा त्यहाँस्थित प्रतिष्ठान स्तरीय ट्रेड यूनियनहरु चुँसम्म कोही बोल्दैनन् ।’

उनले व्यक्तिगत रुपमा केही पत्रकार र कर्मचारी, श्रमिकहरु अलग अलग रुपमा हाम्रो संगठन श्रमजीवी पत्रकार संघ नेपालको कार्यालयमा आएर श्रमजीवी पत्रकारहरूको पक्षमा संघर्ष गरिदिन अनुरोध गरेपछि संघले गएको साता कान्तिपुर व्यवस्थापक कैलाश सिरोहियालाई यी विषय उठाएर गम्भीर ध्यानाकर्षण पनि गरिसकेको बताएका छन् ।

‘आफूलाई श्रमिक पक्षीय दावी गर्ने कान्तिपुरका ट्रेड युनियनहरु, ट्रेड युनियन, महासंघहरु, नेपाल पत्रकार महासंघ, अन्य सञ्चारसम्वद्ध संघ/संगठनहरु यत्रो रडाको मच्चिदा पनि किन बोल्दैनन् ? अब श्रमजीवी-पत्रकार संघ, नेपालका सबै सदस्य साथीहरु आन्दोलनको तयारीका लागि जुटौं’ भन्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले आव्हान गरेका छन् ।