काठमाडौं । उच्च अदालत पाटनले बुढानिलकण्ठ ‘हिट एण्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। उच्चले यो प्रकरणमा वैशाख २० गते जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै दोषी ठहर गर्ने निर्णय सुनाएको थियो। उक्त फैसलामा आइतबार उच्च अदालतले सजाय निर्धारण गरेको हो।
न्यायाधीशद्वय राजेन्द्र घिमिरे र जगदीश खरेलको इजलासले सवारी ज्यान मुद्दामा मल्ल कसुरदार ठहर गर्दै यसअघि गरेको ६ महिना कैदको फैसला बदर गर्दै सजाय थप गरेको हो।
काठमाडौं जिल्ला अदालतले बुढानिलकण्ठको हिट एण्ड रन मुद्दामा पृथ्वी मल्ललाई मादक पदार्थ सेवन गरी सवारी चलाएर लापरबाहीपूर्ण रुपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर त गरेको थियो तर मागदाबीभन्दा अघि बढेर अर्कै दफामा टेक्दै ६ महिना कैद हुने फैसला सुनाएको थियो।
२०७८ चैतमा जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले उनलाई पुर्पक्षका क्रममा थुनामा बसेको अवधि बराबर हुने गरी सजाय सुनाएको थियो। सरकारी वकिलले मल्लको मुद्दामा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए।
उच्च अदालत जिल्लाको फैसलामा सहमत त भएको छ, तर कैद भने थप हुने गरी सजाय निर्धारण गरेको छ। मुलुकी फौजदारी संहिताअनुसार ३ वर्षभन्दा धेरै सजाय हुने मुद्दामा दोषी ठहर गर्ने र सजाय निर्धारण अलग–अलग हुने अभ्यास अन्तर्गत फैसला भएको करिब १ महिनापछि सजायको फैसला सुनाएको हो।
अभियोगपत्रमा मल्ललाई १० वर्ष कैद र सोही अनुसार जरिवाना हुनुपर्ने मागदाबी गरिएको थियो। तर जिल्ला न्यायाधीश अधिकारीको एकल इजलासले आंशिक दाबी पुग्ने फैसला सुनाउँदै उन्मुक्ति दिएको थियो। यो फैसलालगत्तै अधिकारी न्यायपरिषद् छानबिनमा तानिएका थिए।
फैसलामा चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको कुरा आंशिक मात्र पुष्टि भएको उल्लेख थियो। यो मुद्दामा सरकारी पक्षले भवितव्य नभई जानाजान ज्यान मार्ने कार्य भएको दाबी गरेको थियो। तर फैसला गर्दा न्यायाधीशले भवितव्यमा रुपान्तरण गरेर सजाय तोकेपछि विवाद भएको थियो।
काठमाडौं जिल्ला अदालतले चालकलाई जम्मा ६ महिना कैद र १० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो। यो कैद सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको थियो।
सरकारी पक्षले मल्लले लापरबाहीपूर्ण रुपमा सवारी चलाएको, मदिरा सेवन गरेको र नेपालको सवारी चालक अनुमतिपत्रसमेत नभएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ अनुसार सजाय हुनुपर्ने मागदाबी गरेको थियो।
कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुनः कारागार बस्नु नपर्ने हुँदै १० हजार तिरेर विदेश पलायन भएका थिए।
कारागारको रेकर्डमा सात महिना कारागार बसेको भनिए पनि उनी लामो समय अस्पताल बसेका थिए। अस्पतालबाटै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उनी पाँच लाख धरौटीमा रिहा भएपछि विदेश पलाएन भएका हुन्।
काठमाडौंको बुढानिलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसिरमा लीला देवकोटाको ज्यान गएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालले तत्काल प्राप्त प्रमाणबाट मल्ल निर्दोष होइनन् भन्ने विश्वास गर्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए।
यस्तो थियो घटना
अमेरिकामा बस्दै आएका काठमाडौंका २१ वर्षीय पृथ्वी मल्ल २३ मंसिर २०७६ मा स्वदेश फर्केका थिए। त्यसको तीन दिनपछि २७ मंसिरमा उनी आफैंले बा१४च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायणचौरमा जिम गर्न पुगेका थिए।
त्यहाँबाट साँझ साढे ७ बजेतिर बालुवाटारस्थित पलेन्ज गार्डेन रेष्टुराँमा पुगेर खाना खाएपछि उनीहरु रातभर ठमेलमा बसेका थिए। त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे। त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटेर उनीहरु निस्केका थिए।
प्रहरीमा दिएको बयानअनुसार त्यसपछि उनीहरू बिहानको ५ बजे बुढानिलकण्ठ हुँदै ग्रिनभ्याली रिसोर्ट पुगेका थिए। त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेका उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्किँदा सडकको विपरीत दिशामा फुटपाथमा हिँड्दै गरेकी लीला देवकोटालाई ठक्कर दिएर ज्यान लिएको थियो।
प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए। यसरी पल्लो पेटिमा रहेको व्यक्तिलाई ठक्कर दिएर हत्या गरेको घटनालाई गम्भीर रुमपा लिँदै मुद्दा दायर भएर पुर्पक्षको बहसका क्रममा थुनामा पठाइएको थियो।
उनीसँग नेपालको ड्राइभिङ लाइसेन्स समेत थिएन। तर प्रहरीमा गरेकोभन्दा उनले अदालतमा उल्टो बयान गरे। कारको स्पिड धेरै भएको र स्टार्ट बन्द नहुँदा भवितव्यका रुपमा दुर्घटना भएको दाबी गरे।